एमालेको ध्यान मिसन ८४ मा केन्द्रित छ : ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पार्टीको सम्पूर्ण ध्यान मिसन ८४ मा केन्द्रित भएको बताउनुभएको छ ।
गण्डकी प्रदेश कमिटीका नवनिर्वाचित सदस्यहरूलाई सोमबार पोखरामा सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीको सम्पूर्ण गतिविधि २०८४ सालमा हुने निर्वाचन तर्फ केन्द्रित भएको भन्दै सोही मिसन अनुसार काम गर्न प्रदेश कमिटीलाई निर्देशन दिनुभयो । ओलीले पार्टीमा एकताबद्ध भएर सबैलाई समेटेर अघि बढ्दै आगामी निर्वाचनमा सबै तहमा एमालेको नेतृत्वमा सरकार बनाउने गरि काम गर्न प्रदेश कमिटीलाई निर्देशन दिनुभयो ।
उहाँले आन्तरिक विवादमा रुमलिन नहुने धारण राख्दै पार्टी भित्र भएको चुनावले जनस्तरमा राम्रो सन्देश नगएको पनि बताउनुभयो । गण्डकी प्रदेशमा अधिवेशनमा चुनाव भएको थियो । पार्टी भित्र हुने सहमति तथा सर्वसम्मत नेतृत्व चयन हुँदा लोकतन्त्र कमजोर नहुने अध्यक्ष ओलीको धारणा थियो ।
एमालेको नेतृत्वमा मात्र समाजवाद सम्भव छ : बादल
नेकपा एमालेका उपाध्यक्ष राम बहादुर थापा बादलले नेकपा एमालेको नेतृत्वमा मात्र समाजवाद सम्भव रहेको बताउनुभएको छ ।
गण्डकी प्रदेश कमिटीका नवनिर्वाचित सदस्यहरूलाई सोमबार पोखरामा सम्बोधन गर्दै बादलले ‘नेकपा एमालेले जनवादी क्रान्तिको नेतृत्व सम्पन्न गरेको धारणा राख्दै अब समाजवाद निर्माण गर्न तर्फ केन्द्रित भएको बताउनुभयो ।

उहाँले एमालेले श्रमजीवी जनताको नेतृत्वमा जनवादी क्रान्ति गरेको र अब आफूहरू समाजवादी क्रान्तिको फेजमा प्रवेश गरेकाले सोही अनुरूपको काममा खट्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । बादलले नेपालमा कृषि बाट समृद्धि हासिल गरेर मात्र समाजवाद ल्याउन सकिनेमा जोड दिनुभयो ।
समृद्ध नेपाल र सुखी नेपालीको नारा एमालेले अघि सारेको बताउँदै नेपालमा समाजवादी क्रान्ति सम्पन्न भए पछि मात्र समृद्ध नेपाल बन्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्