मुलुकलाई कमजोर बनाउने तत्त्वसँग सजग रहन मुख्यमन्त्री पाण्डेको आग्रह
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले सामाजिक सद्भाव खलबल बनाउने गरी मुलुकलाई कमजोर बनाउने तत्त्वसँग सजग रहन आग्रह गर्नुभएको छ ।
नेपाली काँग्रेस कास्की क्षेत्र नं १ ख ले बिहीबार पोखरामा आयोजना गरेको नेपाली काँग्रेसको प्रथम प्रदेश सम्मेलन एवं शुभकामना आदान प्रदान कार्यक्रममा मुख्यमन्त्री पाण्डेले एक थरी तत्वले सामाजिक सद्भाव खलबलाएर मुलुकलाई कमजोर बनाउन लागेकोले उनीहरूप्रति समयमै सजग रहन आग्रह गर्नुभयो ।

मुलुकलाई कमजोर बनाई जनताले प्राप्त गरेको उपलब्धि समाप्त गर्ने षड्यन्त्र भएको दाबी गर्दै उहाँले विदेशीको चलखेलमा दुई चार जनाले समाजमा विखण्डन गर्न खोजे पनि उनीहरू विरुद्ध एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री पाण्डेले काँग्रेस कमजोर भए सङ्घीयता र लोकतन्त्र समेत धरापमा दाबी गर्दै यसको नेतृत्व काँग्रेसले लिनुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले काँग्रेस एक भए प्रजातन्त्र पनि बलियो हुने दाबी गर्नुभयो ।
कास्कीका सभापति किशोरदत्त बरालले विदेशिने युवाहरूलाई स्वदेशमै रोजगार दिनको लागि कृषि र अन्य उत्पादनशील क्षेत्रमा लाग्नका लागि नीतिगत रूपमै प्रोत्साहित गर्नुपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्