चाडबाडका बेला अनावश्यक गहना प्रदर्शन नगर्न प्रहरीको आग्रह
नेपालगञ्ज। बाँके प्रहरीले चाडबाडका बेला अनावश्यक गहनाको प्रदर्शन नगर्न र गहना लगाएर एक्लै नहिँड्न सर्वसाधारणलाई आग्रह गरेको छ।
भिडभाडमा गरगहना चोरी हुन सक्ने भन्दै प्रहरीले त्यसतर्फ सचेत रहन आग्रह गरेको हो । प्रहरीले भनेको छ, ‘चाडपर्वको अवसरमा अनावश्यक गरगहनाको प्रदर्शन नगरौँ र गहना लगाएर एक्लै हिँडडुल नगरौँ।’
प्रहरीले चाडबाडमा लामो समयसम्म घर छोड्नु परेमा छिमेकी वा नजिकैको प्रहरीलाई जानकारी गराउन भनेको छ । प्रहरीका अनुसार दसैँमा मान्यजनसँग टीका लगाउन घर खाली गरेर जाँदा चोरी हुने सम्भावना रहन्छ । साथै यात्रा गर्दा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान पनि प्रहरीले आग्रह गरेको छ ।
बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले दसैँमा घर फर्किरहेका नेपालीलाई नाकामा अनावश्यक दुःख दिनेलाई तत्काल कारबाही गरिने बताउनुभयो । उहाँले सीमामा नेपालीलाई लुटिन र अनावश्यक झन्झट नहोस् भनेर सादा पोशाकमा प्रहरी परिचालन गरेको जानकारी दिनुभयो ।
मादक पदार्थ सेवन गरी सवारी नचलाउन, यात्राका क्रममा कुनै समस्या आएमा, घर, टोलमा शङ्कास्पद बस्तु फेला परेमा, जुवातास खेलेको देखेमा प्रहरीलाई खबर गर्न भनिएको छ । प्रहरीले धार्मिक तथा सामाजिक सद्भाव खलल पुर्याउने कुनै किसिमको गतिविधि नगर्न अनुरोध गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्