‘दुई वर्ष पुराना मुद्दा चालु आर्थिक वर्षभित्रै फर्छ्यौट गरिने’
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले दुई वर्ष पुराना मुद्दाहरू चालु आर्थिक वर्षभित्रै फर्छ्यौट गर्ने जनाएको छ ।
जिल्ला अदालत परिसरमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै जिल्ला न्यायाधीश कृष्णप्रसाद सुवेदीले अदालतका दुई वर्ष पुराना सबै मुद्दा असार मसान्तसम्ममा फर्छ्यौट गर्ने लक्ष्य रहेको बताउनुभयो ।

न्यायाधीश सुवेदीले दुई वर्ष पुराना मुद्दामा पेसी स्थगित नहुने गरी सुनुवाइ गरिरहेको र काठमाडौँ जिल्ला अदालतले दैनिक सरदर पाँच सय मुद्दाको पेशी तोकेर दैनिक सरदर एक सय मुद्दाको फैसला गरिरहेको जानकारी दिनुभयो ।
न्यायाधीश सुवेदीले जिल्ला अदालतमा विचाराधीन ३१ हजार ३ सय ३६ मुद्दा रहेकोमध्ये ४ हजार ३३ मुद्दा फर्छ्यौट गरेको जानकारी समेत दिनुभयो ।
काठमाडौँ जिल्ला अदालतमा ३१ वटा इजलास बस्न सक्ने अवस्था रहेको जानकारी दिनुहुँदै जिल्ला न्यायाधीश सुवेदीले दुई वर्ष पुराना मुद्दा फर्छ्यौट गर्न ६ वटा अभियान इजलासमार्फत निरन्तर सुनुवाई गरिरहेको जानकारी दिनुभयो ।
जिल्ला अदालत काठमाडौँले केही दिनयता २ वटा पारिवारिक इजलासमार्फत पारिवारिक मुद्दाको छुट्टै सुनुवाई पनि गर्दै आएको छ ।
ठूलो सङ्ख्यामा मुद्दाको चाप रहेका काठमाडौँ जिल्ला अदालतमा विचाराधीन अधिकांश पुरानो मुद्दाहरूमा सहकारी, बैङ्किङ कसुरका मुद्दाहरू रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्