तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेका ८ स्थानीय तहले तिरेनन् २२ करोड विद्युत् महसुल, कारबाही गर्ने तयारीमा प्राधिकरण

बाँके । बाँकेका ८ स्थानीय तहले विद्युत् महसुल नतिरेपछि नेपाल विद्युत् प्राधिकरणले कारबाही गर्ने चेतावनी दिएको छ । नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहहरूले सडक बत्तीका लागि विद्युत् शक्ति उपभोग गरेबापत गत असार मसान्तसम्मको रकम नतिरे पछि अबको ४५ दिनभित्र विद्युत् महसुल नतिरे कारबाही गर्ने चेतावनी दिएको हो ।

प्राधिकरणका अनुसार ४५ दिनभित्र रकम नबुझाएमा विद्युत् महसुल सङ्कलन विनियमावली, २०७८ को विनियम १० को बमोजिम कारबाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ । प्राधिकरणका अनुसार बाँकेका ८ स्थानीय तहले २२ करोड ८५ लाख ३१ हजार ८४ रुपैयाँ विद्युत् महसुल बुझाउन बाँकी रहेको छ । नेपालगञ्ज उप महानगरपालिकाले सबै भन्दा बढी १९ करोड ४५ लाख ८ हजार १९ रुपैयाँ विद्युत् महसुल तिर्न बाँकी रहेको छ ।

यस्तै कोहलपुर नगरपालिकाले ५ लाख ९८ हजार ६ सय ४४, बैजनाथ गाउँपालिकाले ६३ हजार ७०, राप्ती सोनारी गाउँपालिकाले १५ हजार ७ सय ७, खजुरा गाउँपालिकाले ५ हजार ७ सय ७८, डुडुवा गाउँपालिकाले १ करोड ९४ लाख ५८ हजार १९, नरैनापुर गाउँपालिकाले १ लाख २३ हजार ७ सय ५०, जानकी गाउँपालिकाले १४ लाख ४९ हजार ३ सय ६८ रुपैयाँ विद्युत् महसुल तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले अनुमति नलिई बिना मिटर आफूखुसी जथाभाबी सडकबत्ती जडान गर्ने कार्य कानून सम्मत नरहेकोले सो कार्य नगर्न आग्रह गरेको छ । साथै बिना मिटर जडान गरिएका सडक बत्तीहरू सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी ४५ दिनभित्र नियमानुसार मिटर जडान गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button