उपभोक्तालाई दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता समितिले सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तु सहज रुपमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले दशै, तिहार, छठजस्ता चाडपर्व नजिकिँदै जाँदा खाद्य वस्तुको मूल्यवृद्धि भएको र कृत्रिम अभाव सिर्जना गरी कालो बजारी हुन सक्ने भन्दै आम उपभोक्तालाई सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन निर्देशन दिएको हो ।
बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले चाडबाडका वेलामा बजार अनुगमन गर्ने र सर्वसाधारणका लागि विभिन्न स्थानमा सुपथ मूल्य पसलहरू सञ्चालन गरिने बताउनुभयो ।
मन्त्री रिजालले सुपारी उत्पादन, विक्री वितरण र निर्यातका लागि सरकारले सहजीकरण गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
बैठकमा सुपारी खेती विकास संस्थाका महासचिव हरि दाहालले सरकारले सुपारीलाई निर्यातयोग्य वस्तुको रुपमा सूचीकृत गर्न नसकेको बताउँदै सुपारी सहज रुपमा भारतलगायतका मुलुकमा निर्यात गर्न व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्नुभयो ।
त्यसैगरी सांसदहरुले नेपालमा उत्पादन गरिएको सुपारी प्रयोगलाई जोड दिनुपर्ने, उत्पादित सुपारी निर्यातका लागि कानूनी झन्झट हटाउनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा उद्योग मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले विगत २ वर्षदेखि नेपालमा सुपारी आयतमा प्रतिबन्ध लगाएको जानकारी गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्