शिक्षा विधेयकमा छलफल गर्न काँग्रेसले डाक्यो संसदीय दलको बैठक

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको दोस्रो दिनको बैठक पार्टी मुख्यालय सानेपामा जारी छ ।
बैठकमा समसामयिक राजनीति, पार्टीको आन्तरिक संरचना लगायत विषयमा छलफल भइरहेको छ । बैठकमा नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले चालु संसद्मा भएका गतिविधि र पार्टीले खेलेको भूमिकाबारे जानकारी गराउनुभयो ।
प्रमुख सचेतक लेखकले प्रतिनिधि सभामा दर्ता भएको शिक्षा विधेयकबारे छलफल गर्न असोज ८ र ९ गते संसदीय दलको बैठक बोलाइएको पनि बताउनुभयो ।
यस्तै काँग्रेसले असोज ११ गते विद्युत् सम्बन्धी विधेयकका सम्बन्धमा छलफल गर्न पनि संसदीय समितिको बैठक डाकेको प्रमुख सचेतक लेखकले जानकारी दिनुभयो ।
कांग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वरमा स्थित सङ्घीय संसद् भवनको लोत्से हलमा बस्नेछ । बैठकमा शिक्षा विधेयक लक्षित शिक्षकहरूको आन्दोलनको विषयले प्राथमिकता पाएको छ ।
बैठकमा बोल्ने नेताहरूले शिक्षकका जायज मागहरू पुरा गर्न काँग्रेसले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा नेताहरूले जनताहरूमा नैराश्यता बढेको भन्दै जनताको अपेक्षा बमोजिम सेवा प्रवाह र सुशासन कायम गर्ने तर्फ पार्टी लाग्नुपर्ने धारणा राख्नुभयो ।
बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्नेक्रम जारी छ ।








प्रतिक्रिया राख्नुहोस्