उदयपुर कारागारका १० कैदी रिहा
उदयपुर । कारागार शाखा उदयपुरमा सजाय भुक्तानी गरिरहेका १० जना कैदी बुधबार रिहा भएका छन् । उनीहरूले संविधान दिवस २०८० को अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलबाट कैदमुक्त पाएका हुन् ।
विभिन्न अपराधमा संलग्न भई सरकारवादी मुद्दामा कारावास सजाय पाएर आधा कैद भुक्तान गरिसकेका असल आचरणका कैदीलाई बाँकी सजाय मिनाहा गर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार राष्ट्रपति पौडेलले बाँकी सजाय मिनाहा गरेपछि उनीहरू छुटेका हुन् । कारागार प्रमुख डिगम कार्कीका अनुसार कैदमुक्त हुनेहरूमा कर्तव्य ज्यान, सवारी ज्यान, चोरी तथा डाँका अभियोगका छन् ।
उदयपुरका ८, भोजपुरका १ र सुनसरीका १ जना सजायमुक्त भएको जेलर कार्कीले बताउनुभयाे । राष्ट्रिय चाडपर्वमा सजाय मिनाहा गरेर कैदमुक्त गर्ने प्रावधान अनुसार गृह मन्त्रालय, स्थानीय प्रशासन तथा प्रदेश समन्वय महाशाखाबाट प्राप्त पत्रअनुसार उनीहरूलाई जेलमुक्त गरिएको कार्कीले बताउनुभयो।
प्रतिक्रिया राख्नुहोस्