चाडपर्व लक्षित कालोबजारी, मूल्यवृद्धि रोक्न सांसदहरूकाे माग
काठमाडौँ I चाडपर्व लक्षित गरी हुने कालोबजारी, मूल्यवृद्धि,मिसावट र कृत्रिम अभाव रोक्ने गरी अनुगमन गर्नुपर्नेमा सांसदहरूले जोड दिनुभएको छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको दैनिक उपभोग्य खाद्यवस्तुहरूको आपूर्ति व्यवस्थापन सम्बन्धमा राष्ट्रिय उपभोक्ता मञ्चबाट प्राप्त प्रतिवेदनमाथि छलफल गर्न आज सिंहदरबारमा बसेको बैठकमा सांसद्हरुले चाडपर्व लक्षित गरी हुने सबै किसिमका कालोबजारी, मूल्यवृद्धि र कृत्रिम अभाव रोक्न अनुगमनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड्दिनुभयो ।
सांसद्हरुले चिनी,चामल लगायतका दैनिक उपभोग्य वस्तुको अनावश्यक मूल्यवृद्धि गर्ने,कृत्रिम अभाव सिर्जना गर्नेलाई कडाकारबाहीको माग गर्नुभयो ।
सांसद्हरुले बजारमा चिनीको आपूर्तिलाई व्यवस्थित गर्न सरकारी स्वामित्वमा रहेका चिनी मिलको प्रभावकारी सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले नेपालमा चिनीको मूल्य अनावश्यक रूपमा बढाइएको बताउनुभयो ।
अध्यक्ष महर्जनले छिमेकी मुलुक भारतले अझै पनि चिनी,चामल,आलु प्याज लगायतका खाद्यवस्तु माथि निर्यातमा रोक लगाएको भन्दै नेपालले तत्काल निर्यात खुलाउन पहल गर्नुपर्ने र आगामी दिनमा अत्यावश्यक खाद्य बस्तुमा आत्मनिर्भर हुने गरी किसानलाई प्रोत्साहन गर्नुपर्ने धारणा राख्नुभयो ।
यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले मन्त्रालयले केन्द्रीय तहमा विभिन्न समूह बनाएर अनुगमन भइरहेको र मुलुकका ७७ वटै जिल्ला र सबै स्थानीय तहमा बजार अनुगमन गर्ने व्यवस्था मिलाइएको बताउनुभयो ।
सचिव मरासिनीले चिनी,चामल लगायतका अत्यावश्यक खाद्यवस्तुको निर्यात खुलाउने विषयमा भारत सरकारलाई पत्राचार गरिएको र अनौपचारिक रूपमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताउनुभयो ।
सचिव मरासिनीले चाँडै नै चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याइने पनि जानकारी दिनुभयो ।
यस्तै समितिले चिनी र चामलको निर्यातका लागि उद्योग, वाणिज्य तथा आर्पूिर्त मन्त्रालयबाट गरिएको पत्राचार अनुसार मूल्य अभिबृद्धिकर छुट गरी एक प्रतिशत भन्सार महसुश्लमा निर्यातको प्रबन्ध मिलाउन पनि अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्