तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा रैथानेबाली मार्सेमा कागे किराको प्रकोप

बाजुरा । बाजुराका विभिन्न ठाउँमा लगाइने मार्से  बालीमा किरा लाग्न थालेपछि किसान चिन्तित बनेका छन्। पाक्नै लागेको मार्सेबालीमा कागे नामक किराको प्रकोपले सखाप पारेको किसानहरुले गुनासो गरेका छन् ।

मार्सेबालीमा यो किराले आक्रमण गरेको एक दुई दिनमै पुरै बारी खाएर नष्ट गर्ने गरेको खप्तड छेडेदह गाउँपालिका ३ धनाल्तका कृषक बहादुर देबबहादुर धामीले बताउनु भयो।

धनाल्तबासीको मुख्य बालीका रुपमा रहेको मार्से किराले सखाप पारेपछि भोकमरी लाग्ने चिन्ता किसानमा थपिएको छ। कृषि ज्ञानकेन्द्र बाजुराले मार्से बालीलाई रैथाने बालीको सूचिमा राखेको छ। मार्सेबाली कम मिहिनेत गरेर सुख्खा ठाउँमा पनि सहजै उत्पादन गरेर सजिलै भित्र्याउन सकिने भएकाले कृषकहरूको  यो बाली लगाउने तर्फ आकर्षण बढेको थियो।

बाजुराका अधिकांश भेगमा लगाइने मार्सेबालीलाई अति वा अनावृष्टि भई खाद्यान्न उत्पादन कम भएका वर्षहरुमा अनिकाल टार्ने मुख्य बालीका रुपमा पनि लिने गरिन्छ।  कागे किराको सङ्क्रमणबाट मार्सेमा जिल्लाभर करिब १० प्रतिशत बढी क्षति भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ। यो बाली पाक्ने समयमै कागे नामक किरा सक्रिय भएर खान थाल्ने भएकाले यसको तत्काल नष्ट गर्नुपर्ने  कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरि पनेरुले बताउनु भयो। 

बाजुरामा कुल क्षेत्रफलको करिब १० हेक्टर क्षेत्रफलमा मार्सेबालीको खेती गरिँदै आएको छ। भने करिब ८ मेट्रिक टन मार्सेबाली उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button