नेपालगञ्ज विमानस्थलमा २६ लाखसहित पक्राउ परेका कर अधिकृतलाई अख्तियार पठाइयो

बाँके । बाँके प्रहरीले नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाख नगदसहित एक सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान गरी अख्तियारको जिम्मा लगाइएको छ ।
प्रहरीले आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटाका साथबाट सो रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनु भएको छ ।
नेपालगञ्जबाट काठमाडौँ जाने क्रममा रहेका कर अधिकृत सापकोटालाई विमानस्थलमा सुरक्षा जाँचका क्रममा उनको झोलामा स्रोत नखुलेको ठूलो मात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डाँगीले बताउनु भयो ।
थप अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगञ्जमा पठाउने तयारी भएको प्रहरीले जनाएको छ । प्रहरीले सापकोटा बाट १ हजार दरका २६ वटा बन्डल परिचय पत्र, हवाई टिकट, बोडिङ पास एटिएम कार्ड समेत बरामद गरेको छ ।
नेपालगञ्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको टोलीले सापकोटालाई आज बिहान नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार सापकोटा बिहान ८ः४५ बजेको श्रीएयरको उडानमार्फत काठमाडौँ जाँदै थिए । सापकोटासँगै अर्का एक जना व्यक्ति पनि रहेका थिए । उनी भने फरार भएका छन् । प्रहरीले फरार व्यक्तिको खोजी गरिरहेको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्