शम्शेरगन्ज बस दुर्घटना अपडेटः सातै जना मृतकको पहिचान खुल्यो
बाँके । पूर्व पश्चिम राजमार्गमा पर्ने बाँकेको शम्शेरगन्ज नजिक बस दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुलेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीले मृतक सहचालक बर्दियाको बारबर्दिया नगरपालिका ७ रम्मापुरका ३४ वर्षीय वसन्त कार्की रहेको जानकारी दिनुभयो ।
साथै मृत्यु हुने अन्य ६ जना ठाकुर बाबा–९ की ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीय काशीराम थारू, ५० वर्षीया रूपा परियार, ३५ वर्षीया जयन्ती थारू, ६५ वर्षीय साधुराम चौधरी, बस चालक ४५ वर्षीय जुबहादुर चन्द ठाकुर बाबा–८ का हुन्।
दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको राप्तीसोनारी ८ शम्शेरगन्ज नजिक बिग्रेर सडक छेउमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकसँग शुक्रबार राति ठोक्किँदा बसमा सवार ४१ जनामध्ये चार पुरुष र तीन महिलाको मृत्यु भएको हो।
बर्दिया ठाकुर बाबा नगरपालिका वडा ९ को बेतहनी सामुदायिक वन समितिको पदाधिकारी सहितको भ्रमण टोली दाङको धारापानी पुगेर बर्दिया फर्किने क्रममा दुर्घटनामा परेको हो ।
बसमा सवार ४१ जनामध्ये २ जना गम्भीर, १२ जना मध्यम, १५ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ। अन्य ५ जना भने सकुशल रहेका छन्।
घाइतेहरूको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्