तपाईँ सुन्दै हुनुहुन्छः

प्रविधिमैत्री बन्दै कास्की यातायात कार्यालय, ब्लुबुक नवीकरण अब एकै छिनमा

पोखरा । कास्कीको यातायात कार्यालय प्रविधिमैत्री बन्दै गएको छ । सफ्टवेयर ट्रान्सफर म्यानेजमेन्ट सिष्टम नामक सफ्टवेयर कार्यालयमा जडान गरिए सँगै अब यातायात व्यवस्था कार्यालय सवारी कास्कीमा भएका सम्पूर्ण विवरणलाई अध्यावधिक गर्न सहज हुने भएको छ । 

यो प्रविधि जडान गरिए सँगै ब्लुबुक नवीकरणका लागि घण्टौँ कुर्न पर्ने समस्या बाट अब सेवाग्राही मुक्त भएका छन् भने बिचौलियाको पनि अन्त्य भएको छ । यातायात व्यवस्था कार्यालयमा कर तिर्ने प्रणालीलाई सहज बनाउन सफ्टवेयर ट्रान्सफर म्यानेजमेन्ट सिष्टम लागु गरिएको हो । यो सिष्टम जडान गरिए पछि अहिले धेरै सजिलो भएको छ भने भिडभाड र दिनहुँ लाइनमा बस्नुपर्ने समस्याको पनि अन्त्य भएको यातायात कार्यालय कास्कीका प्रमुख डिल्लीराम रिजालले जानकारी दिनुभयो । 

उहाँका अनुसार यो सफ्टवेयरले सबै फाइल ढड्डाका पेजहरूलाई स्क्यानिङ गरेर सफ्टवेयरको डाटाबेसमा राखेको हुन्छ । यसको ब्याकअप केन्द्रिय डाटा सेन्टर जिआइजिसी सिंहदरबार भित्र पनि रहेको छ । यसमा भेइकलहरुका इन्फरमेसन, ओनरको इन्फरमेसन, इन्सुरेन्स इन्फोरमेसन र कष्टम इन्फरमेसन इन्ट्री गरिएको छ । 

“सफ्टवेयरमा यो वर्ष हामीले अटो कर क्यालकुलेसन गर्ने फिचर थपेका छौँ, कार्यालय प्रमुख रिजालले भन्नुभयो, पहिला प्रत्यक्ष करका विषयमा बुझाउन दुई जना कर्मचारी खटिन्थे भने अहिले भिआरएस रसिद काट्ने कर्मचारीले आफै अटो कर क्यालकुलेसन गर्न सक्छन्, कर तिरेको मिति र नवीकरणको अन्तिम मिति हानेपछि त्यसले कर आफै निकाल्छ” । अनलाइन प्रणाली बाट कर तिर्ने व्यवस्था मिलाउने तयारी गरेको समेत रिजालले बताउनुभयो । 

सेवाग्राहीलाई सेवा प्रवाह छिटो र छरितो गर्नको लागि आफूहरूले विभिन्न प्रयास गरेको उहाँको भनाई छ । “म कार्यालयमा प्रमुख भएर आउँदा कर तिर्नकै लागि ४ वटा लाइन बस्नुपर्ने अवस्था थियो, त्यसलाई हामीले छोट्याएका छौँ,एउटै लाइनमा बसिसकेपछि त्यहीँबाट सेवाग्राहीले कर तिर्छन् र अर्को झ्यालमा नवीकरण गर्छन् रिजालले भन्नुभयो, पहिला कर तिर्नकै लागि चार घण्टा लाग्ने काम अहिले बढीमा २० मिनेटमा उम्कन्छ” । कास्की यातायात कार्यालयमा प्रमुख रिजाल आइसकेपछि कार्यालयलाई प्रविधिमैत्री बनाइएको छ । यस कार्यालयमा हुने सवारी साधनका हरेक रेकर्डहरू डिजिटलाईजेशन गरिएको छ । पुराना ढड्डा रेकर्ड फाइल लाई समेत  सफ्टवेयरमा राखिएको छ भने नयाँ फाइलहरू अब सफ्टवेयरमै इन्ट्रि गरिने छ । जसका कारण काम काम कारबाहीमा धेरै सहजता आएको छ ।

गण्डकी प्रदेशमा रहेका यातायात व्यवस्था कार्यालय मध्ये कास्कीको यातायात कार्यालय सबै भन्दा बढी सवारी दर्ता गर्ने कार्यालय हो । हालसम्म ३ लाख ११ हजार सवारी साधन दर्ता भएका छन् । त्यसमा लगतकट्टा भएका केही सवारीको हिसाब गर्दा मोटामोटी २ लाख ९० हजार भन्दा बढी सवारी अस्तित्वमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button