तपाईँ सुन्दै हुनुहुन्छः

बाँकी जीवन सत्कर्ममा लगाउने गरी काम गरेर देखाउँछु : उपाध्यक्ष लामा

रुपन्देही । लुम्बिनी बिकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बाँकी जीवन सत्कर्ममा लगाउने गरी काम गरेर देखाउन लुम्बिनीको विशेष जिम्मेवारी लिएर आएको बताउनुभएको छ । 

विश्वका धेरै मुलुकबाट लुम्बिनी आउन चाहनेलाई यहाँको बसाई लम्बिने गरी योजना बनाउने र लुम्बिनीमा केही राम्रो काम गरेर छाड्ने उहाँले बताउनुभयो । उपाध्यक्ष लामाले आफ्नो कार्यकालमा गुरुयोजनाको बाँकी काम सम्पन्न गर्ने र मायादेवी मन्दिर निर्माण गर्ने उद्देश्य राखेको  बताउनुभयो । मायादेवी नयाँ डिजाइन र आकर्षक बनाउनुपर्ने उहाँको भनाइ छ । 

बिहीबार लुम्बिनीमा रुपन्देही, कपिलवस्तु र नवलपरासीका पत्रकारहरूसंगको भेटघाट कार्यक्रम गर्दै उहाँले पर्यटकको बसाई लम्बाउने योजना बनाएको उल्लेख गर्नुभयो ।उहाँले भन्नुभयो, अब लुम्बिनीमा पूजा कार्यक्रम बढ्नेछन् ,नयाँ तीनवटा पूजा थपिएको छ,यस कारणले थुप्रै पर्यटक आउनेछन् । लामाले रुपन्देही, कपिलवस्तु र नवलपरासीमा रहेका बौद्ध क्षेत्रको विकासका लागि दीर्घकालीन योजना बनाएको बताउँदै यसमा आवश्यक रकम जुटाउन विश्व समुदायमा पुग्ने बताउनुभयो । 

अब ६र७ अर्बको रकम जुटाएर गुरुयोजना सकाउनु छ, अहिले देशको बजेटमा नि समस्या छ, म बुद्ध धर्मको विश्व समुदायसँगै जोडिएको छु केही समयमा त्यो फोरममा म जानेछु र स्रोत जुटाउने छु, उहाँले भन्नुभयो। उपाध्यक्ष लामाले कोषलाई सबै पक्षमा पारदर्शिता बनाउने प्रमुख उद्देश्य रहेको बताउँदै त्यसमा साथ दिन पत्रकारलाई अनुरोध गर्नुभयो । पारदर्शिता आर्थिकको मात्र होइन, हरेक काम र जिम्मेवारीको पारदर्शिता गराउने छु, यहाँको जमिन,स्रोत, कर्मचारीको अवस्था, स्थानीयको सहयोग सबैलाई पारदर्शी बनाउने छु, म कमाउन आएको होइन जतिसक्दो यसलाई बनाउन आएको हुँ, मलाई  सहयोग र साथ चाहियो, उहाँको भनाइ थियो ।

उपाध्यक्ष लामाले गुरुयोजनामा केही परिमार्जन गर्नुपर्ने अवस्था देखिएको विषयमा सबैलाई महसुस भएको बताउँदै त्यसको लागि युनेस्को, विभागीय मन्त्रालय र सरोकारवाला निकायसँगको परामर्शमा गरिने स्पष्ट पार्नुभयो । ४५ वर्षअघि केन्जो टाँगेले बनाएको योजना हो, अहिले धेरै अवस्था फेरिएको छ, त्यसका कारण पनि परिमार्जन जरुरी छ, उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button