तपाईँ सुन्दै हुनुहुन्छः

प्रजापति प्रसाईँ लाईफ टाइम अचिभमेन्ट अवार्डबाट पर्यटन व्यवसायी शेर्पा सम्मानित

राष्ट्रपतिबाट विभिन्न प्रदेशका ६ जना शिक्षकलाई उत्कृष्ट शिक्षक पुरस्कार प्रदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रजापति प्रसाईँ लाईफ टाइम अचिभमेन्ट अवार्ड २०८० बाट पर्वतारोही एवं पर्यटन व्यवसायी आङछिरिङ शेर्पालाई प्रदान गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शितलनिवासमा पिपी प्रसाईँ फाउन्डेसनले आज आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान समारोहमा राष्ट्रपति पौडेलले पर्वतारोही शेर्पालाई प्रजापति प्रसाईँ लाईफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गर्नुभयो भने विभिन्न प्रदेशका छ जना उत्कृष्ट शिक्षकलाई प्रजापति प्रसाईँ उत्कृष्ट शिक्षक पुरस्कार प्रदान गर्नुभयो ।

यसरी उत्कृष्ट शिक्षक पुरस्कारबाट पुरस्कृत हुनेहरूमा कोशी प्रदेशबाट फिक्कलका सोमप्रसाद गौतम, वाग्मती प्रदेशबाट काठमाडौँकी कमला राई, गण्डकी प्रदेशबाट कास्कीकी टुकादेवी आचार्य रहनुभएको छ ।

यस्तै लुम्बिनी प्रदेशबाट पाल्पाका गोपालप्रसाद बस्याल, कर्णाली प्रदेशबाट डोल्पाका जयबहादुर बस्नेत र सुदूर पश्चिम प्रदेशबाट कैलालीका शिक्षक जितबहादुर चौधरी रहनुभएको छ ।

ती सबै पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ नगद रहेको फाउन्डेसनका सचिव दिलभुषण पाठकले जानकारी दिनुभयो ।

सोही समारोहमा राष्ट्रपति पौडेलले पि पी प्रसाईँ फाउन्डेसनले छनौट गरेको मकवानपुरको देवहित आधारभूत विद्यालयलाई एक लाख रुपैयाँ राशिको विद्यालय प्रोत्साहन पुरस्कार २०८० पनि प्रदान गर्नुभयो ।

कार्यक्रममा पिपी प्रसाईँ फाउन्डेसनका अध्यक्ष शिखर प्रसाईँले करिब ८० प्रतिशत विद्यार्थी अध्ययन गर्ने देशका सार्वजनिक विद्यालयहरूको सवलीकरणका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

त्यस अवसरमा सम्मानित व्यक्तित्व पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले नेपाल विश्वभरिकै पर्यटकका लागि आकर्षक गन्तव्य भएकाले सरकार र निजी क्षेत्र मिलेर पर्यटन व्यवसायको प्रवद्र्धन र विस्तारमा विशेष महत्त्व दिएर अगाडि बढ्नु जरुरी रहेको बताउनुभयो ।

यस्तै पुरस्कृत शिक्षकहरू मध्यबाट वाग्मतीकी कमला राई र डोल्पाका जयबहादुर बस्नेतले पुरस्कार र सम्मानले आफ्नो कार्यक्षेत्रमा अझ बढी ईमान्दारीका साथ लाग्न प्रेरणा प्रदान गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button