तपाईँ सुन्दै हुनुहुन्छः

‘सङ्गठन विस्तारमा महिला सहभागिताले प्रभावकारी भूमिका खेल्न सक्छ’

लेखनाथ । अर्थमन्त्री डा प्रकाशशरण महतले महिला सहभागिताले पार्टी सङ्गठन विस्तारमा प्रभावकारी भूमिका खेल्न सक्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस कास्कीका कार्यकर्तालाई पोखरामा सम्बोधन गर्दै उहाँले पार्टी सङ्गठन विस्तारमा पुरुषभन्दा महिलाले नै प्रभावकारी भूमिका खेल्न सक्ने बताउनुभयो ।

लामो समयदेखि पार्टीका संरचना निर्माण हुन नसकेको स्वीकार गर्दै उहाँले भन्नुभयो, “आउँदो निर्वाचनमा बहुमत हात पार्न पार्टी सङ्गठन वडा तहदेखि नै बलियो हुन जरुरी छ ।” पार्टीका संरचनाहरू छिट्टै गठन गरिने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।

नेपाली जनताको चाहना पूरा गर्ने कार्यमा वर्तमान सरकार सक्रिय रहेको उहाँको भनाइ थियो । सीमित स्रोत र साधनबिच जनताका चाहना पूरा गर्ने प्रयासमा रहेको चर्चा गर्दै मन्त्री महतले विभिन्न समस्याकै कारण सोचेअनुसार विकास निर्माण कार्यले गति लिन नसकेको स्वीकार गर्नुभयो ।

सरकारका नकारात्मक कुरा मात्र नभएर सकारात्मक कुराको पनि प्रशंसा गरिदिन आग्रह गर्दै उहाँले जनताले सोचेअनुसार काम गर्न नसके पनि सरकार जनताकै हितमा काम गरिरहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button