तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय पुँजीको वृद्धि गर्दै समाजवादको विकास गर्न आवश्यक: महासचिव भुसाल

काठमाडौँ । नेकपा समाजवादीका महासचिव घनश्याम भुसालले राष्ट्रिय पुँजीको वृद्धि गर्दै समाजवादको विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।

एकीकृत सरकारी कर्मचारी सङ्गठन नेपाल केन्द्रिय कार्यसमितिको दोस्रो पूर्ण बैठकमा महासचिव भुसालले पञ्चायत र सामन्तवादको अवशेष समाप्त भइसकेकाले मुलुकको भविष्य समाजवाद निर्माणबाट हुने बताउनुभयो ।

महासचिव भुसालले सङ्गठन व्यक्तिवादमा गए संकट उत्पन्न हुने भएकाले सबैखाले अन्यौलता चिरेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले श्रमजीवीहरूको क्षमता अभिवृद्धि गर्दै आफ्नो क्षेत्रबाट मुलुकका लागि उच्चतम सेवा र योगदान गर्न आग्रह गर्नुभयो ।

एकीकृत सरकारी कर्मचारी सङ्गठन नेपाल अध्यक्ष गगनसिंह विष्टले सङ्गठन सुदृढीकरण गर्दै मुलुकको सशक्त सङ्गठनका रूपमा स्थापित गरिने बताउनुभयो ।

उहाँले सङ्गठनलाई अग्रणी मोर्चाका रुपमा उतार्न सबै कोणबाट सशक्त भएर अघि बढ्ने दाबी गर्नुभयो ।

एकीकृत सरकारी कर्मचारी सङ्गठनका महासचिव प्रकाश राईले ट्रेड युनियन आन्दोलनलाई सहजीकरण गर्दै पारदर्शी र सशक्त बनाउने बताउनुभयो ।

भक्तपुरको खरिपाटीमा आजबाट सुरु भएको एकीकृत सरकारी कर्मचारी सङ्गठन नेपाल केन्द्रिय कार्यसमितिको दोस्रो पूर्ण बैठक भोलीसम्म चल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button