खाली खुट्टा हिँड्नुपर्ने बझाङको बिरीजात
बझाङ । जिल्लाको सुर्मा गाउँपालिकाको ठगुन्नामा लाग्ने बिरी जात्रामा खाली खुट्टा हिँड्नु पर्ने धार्मिक मान्यता रहेको छ । यहाँ जाने भक्तजनहरू यो मेला अवधिमा जो कोही पनि खाली खुट्टा नै हिड्डुल गर्नु पर्ने हुन्छ ।
सुर्मादेवीको आस्था गर्ने जिल्लाका भक्तजनहरू यो मेलामा घर बाटै खाली खुट्टा हिँडेर मेला जाने गर्दछन् । कतिपय पुरुष भक्तजनहरू त ४३ सय मिटर माथि हिमाली क्षेत्रमा रहेको सुर्मासरोवर ताल कुण्डमा पुगेर फिर्ता हुने गर्दछन् । यहाँ पनि खाली खुट्टा नै जानुपर्ने हुन्छ ।
मेला लाग्ने स्थान ठकुन्नाडा गाँउमा नै जुत्ता चप्पल निकालेर मन्दिर स्थल साथै सुर्मासरोवर जाने बाटो आसपास क्षेत्रसम्म जुत्ता चप्पल लगाउदैनन । मेलाको यो समयमा महिलाहरूले सुर्मा सरोवर ताल जान नहुने तर बीच बाटो लोट्ने भन्ने ठाउँ सम्म मात्र महिलाहरूले जाने हुने मान्नेता रहेको छ । त्यस ठाउँमा पुगेका महिलाहरूले सुर्मा सरोबर बाट स्नान गरेर फर्केका लोग्ने मान्छेहरू लाई दुवो लगाइ दिने उनीहरूले सरोवरको जल खुवाउने , तालको माटोको टिका लगाइ दिई सुर्मादेवीको आर्शिकवाट दोहरो आदान प्रदान गर्ने प्रचलन रहेको छ ।
बिरिजात पर्व बर्षेनी एकादशी देखी पूर्णिमा सम्म लाग्ने गर्दछ । खास गरि यो मेलामा सुर्मादेवी माताको पूजा आराधाना गर्ने प्रचलन छ । मेलामा भक्तजनहरूले जे वर माग्यो सुर्मादेवी ले त्यो वर दिन्छ भन्ने मान्यता रहेको हुँदा यहाँ मान्छेको भिडभाड हुन्छ ।
सुर्मा देवीका धामी झाँक्री सहितको सुर्मा मन्दिर र हिमालको सुर्मा सरोवर सम्मको यात्रा गरिने हुँदा यो मेला पाँच दिन सम्म चल्ने गर्दछ ।
यसपाली पनि आइतबार बाट लागेको यो मेला बिहीबार सकिएको छ । यसपाली ठुलो मेला परेकाले चार पाँस सय मान्छे सुर्मा सरोवर पुगेका बताइन्छ । मेलामा देवता चल्ने, चाँभाइ खेल्ने, ढाँकी बाजा बजाउने , फाग गाउने गर्दछन् । साथै भलिबल खेल, डेउडा खेल्ने गर्दछन् । सुर्मादेवीका आलीपालीका मान्छेहरू यो मेला सुरु हुने समय देखी मासु लसुन खाँदैनन् । यो समयमा दार्चुलामा पनि पर्व लाग्ने हुँदा दार्चुलाका भक्तजनहरू पनि सुर्मासरोवर तालमा भेटिने गरेको भक्तजनहरू बताउँछन् ।
प्रतिक्रिया राख्नुहोस्