तपाईँ सुन्दै हुनुहुन्छः

संकट समाधानका लागि अन्तिम लडाँइ लड्न तयार : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको विकासका निम्ति हरेक संकट विरुद्ध लड्न तयार रहेको बताउँदै त्यसमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज सम्पन्न राष्ट्रिय विकास समस्या समाधान समितिको ५१ औँ बैठकमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, विकास लगायत हरेक क्षेत्रमा देखिएका संकट सुधारका निम्ति आफु अन्तिम लडाँइ लड्न तयार रहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले मुलुकमा देखिएको सङ्कटका विरुद्ध लड्न आफू तयार रहेकाले त्यसका लागि सम्बद्ध सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले न्युन पूँजीगत खर्च पनि पूरै खर्च नहुने गरेको भन्दै विगतमा न्युन प्रगति भएका मन्त्रालय र निकायलाई विशेष कार्ययोजना बनाएर लाग्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले गत आर्थिक वर्षमा पूँजीगत ७० प्रतिशत कटाउने ७ वटा मन्त्रालय र भौतिक प्रगति ९० प्रतिशत कटाउने १० वटा राष्ट्रिय गौरवका आयोजनालाई धन्यवाद दिनुभयो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले सङ्घीयता कार्यान्वयन र सेवा प्रवाहबारे प्रश्न उठेको भन्दै संविधानको मर्म र भावना अनुरुप अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले विकास निर्माणमा प्राथमिकता निर्धारण गरेर परम्परागत प्रक्रियाभन्दा माथि उठेर अघि बढ्नुपर्ने बताउँदै आगामी बजेट परम्पराभन्दा माथि तयार गरिने स्पष्ट पार्नुभयो ।

राष्ट्रिय विकास समस्या समाधान समिति बैठकमा मुलुकको समष्टिगत आर्थिक परिसूचकहरू, सरकारको राजश्व तथा वैदेशिक सहायता, बजेट खर्चको अवस्था मन्त्रालयगत खर्चको प्रगति स्थिति र विभिन्न क्षेत्रमा देखिएका ७ वटा समस्या र प्रस्तावित समाधानका विषयहरू प्रस्तुत गरिएको थियो ।

बैठकमा संघीय मन्त्रीहरू , सबै प्रदेशका मुख्यमन्त्रीहरू, मुख्य सचिव, राष्ट्र बैंकका गभर्नर, लगानी बोर्ड, गाउँपालिका महासङ्घ, नगरपालिका महासङ्घ र राष्ट्रिय योजना आयोगका पदाधिकारी लगायत उच्च विशिष्ट कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button