धरानमा निषेध आज्ञाका कारण आज बजार क्षेत्र सुनसान

सुनसरी । जिल्ला प्रशासन सुनसरीले धरानमा जारी गरेको निशेधआज्ञाका कारण आज बजार क्षेत्र सुनसान बनेको छ ।
शुक्रवार राती १२ः०० बजेदेखि लागु भएको निशेधआज्ञा अवधि आज राति १२ः०० बजे सकिन्छ ।
निशेधआज्ञा अवधिमा धरान प्रवेश गर्ने ५ नाकामा सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले बताउनुभयो । उहाँका अनुसार धरान प्रवेश गर्ने पश्चिम बाटो वराहक्षेत्र नगरपालिका–१ मा पर्ने झण्डा चोकदेखि धरानतर्फको क्षेत्र र धरान प्रवेश गर्ने पश्चिम–दक्षिण रामधुनी नगरपालिका–६ बाट वराहक्षेत्र नगरपालिका–३ चोकबाट धरानतर्फको क्षेत्र प्रवेशमा कडाइ गरिएको छ ।
यस्तै, इटहरी–२० तरहरा पानीपियादेखि उत्तर धरान क्षेत्र, धरान–५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरान क्षेत्र र धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरिएको छ ।

धरानको चारैतिरका प्रमुख नाकाहरूमा सवारी आवागमनलाई कडाइ गरिएको छ । धरानभित्र पनि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ ।
आज धरानमा गर्ने भनिएको प्रदर्शनमा स्थानीय प्रशासनले निषेधाज्ञा लगाएर प्रतिबन्ध गरेपछि हिन्दु धर्म समर्थकहरूले इटहरीमा प्रदर्शन गरिरहेका छन् ।
धरानमा गाई गोरु काट्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने माग राखेर इटहरीमा हिन्दु धर्म समर्थकहरूले प्रदर्शन गरेका हुन् ।

तोकिएका नाकाहरूमा अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गर्ने बाहेक अन्य अनावश्यक कामका लागि हिँडडुल र भेला गर्न पाइने छैन । निशेधआज्ञा उल्लङ्घन गर्नेलाई स्थानीय प्रशासन ऐन,२०२८ अनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।








प्रतिक्रिया राख्नुहोस्