भेरी नदीको धमिलो पानी खाना बाध्य नाम्रावासी

सल्यान । वर्षा होस या अन्य कुनै याम नाम्रावासीलाई दूषित पानी पिउनु पर्ने बाध्यता कायमै छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ नाम्रावासीका लागि पिउने पानी नै भेरीमा बग्ने पानी हो ।
चाहे त्यो धमिलो नै किन नहोस् । तीन वर्ष अघि निर्माण भएको खानेपानी पानी योजना बिग्रिए पछि नाम्राका ६० भन्दा बढी घरधुरीले भेरीको पानी उपभोग गर्दै आइरहेका छन् ।
खानेपानीको लाइनबाट सिचाई कुलो ल्याउँदा च्यापिएको, ठाउँ ठाउँमा पाइप फुटेको र केही ठाउँमा जाम लाग्दा विगत तीन महिनादेखि खानेपानी योजना अलपत्र परेको मनिराम वि.क. को भनाई छ । कुनै निकायले २ किलोमिटर खानेपानी पाइप उपलब्ध गराएमा पुनः खानेपानी योजना सञ्चालन गर्न सकिने उहाँको भनाई छ । उहाँले भन्नु भयो ‘वास्तवमा अहिलेका जनताहरूले श्रमदान नगर्ने सबै अर्कोले नै गरिदियोस् भन्ने बुझाएले गर्दा नै यस्तो समस्या आएको छ ।’

३ महिना देखि फेरि उहीँ पुरानो समस्या फर्किएर आएको ७६ वर्षीया खगपती शर्मालेले दुखेसो गर्नु भयो । उहाँले भन्नु भयो ‘६० वर्ष भयो विवाह गरेको आएको यस ठाउँमा त्यस दिन देखि भेरी नदीको धमिलो पानी खादै आइरहेका थियौ गाउँमा योजना आएपछि घरघरमा खानेपानी धारामा आउने गरेको घरमानै खाने, नुहाउने धेरै सजिलो थियो । तर फेरी योजना बिग्रिए पछि भेरीकै पानी खान बाध्य भइयो ।’
बुढाबुढीहरु धेरै टाढा जान नसक्ने भएकोले भेरीकै पानी खाने गरेको बताउनु भएको छ । युवा तन्नेरीहरू पारी सुर्खेतको सिम्ता गाउँपालिका ४ बाली खोला व्यक्तिको घरमा गएर पानी ल्याएर खाने गरेको तर आफूहरू भने यही भेरी नदीको पानी खान बाध्य भएको रत्ना परियारले बताउनु भयो ।
पुल तरेर अर्को जिल्ला जाँदा सधैँ राम्रो नहुने विभिन्न खालका वचन लाउने गर्नुका साथै ६० ÷६५ घरधुरीलाई एउटा व्यक्तिले ल्याएको खानेपानीले समेत नपुग्ने र उनलाई समेत समस्या हुने भएकोले आफैलाई नराम्रो लाग्ने अर्का स्थानीय बिरबल पोखरेलले बताउनु भयो । उहाँका अनुसार हाम्रो पुर्खा देखि खादै आएको भेरी नदीको पानी खान कहिले नछुट्ने अवस्था आयो ।

गाउँ माथि छ तल तिर भेरी नदी छ तर यस ठाउँमा लिफ्ट खानेपानी भएमा असाध्य राम्रो हुने बालकुमारी वलीको भनाई छ । उहाँले भन्नु भयो ‘यो भेरी नदीको धमिलो पानी पिउँदा झाडापखाला, ज्वरो, पत्थरी लगायत विभिन्न खालका रोगहरू लाग्ने गरेको छ ।’ आफूहरूलाई बिजुली भन्दा सोलारको माध्यमबाट लिफ्ट खानेपानी व्यवस्था गरिदिए असाध्य राम्रो हुने उहाँले बताउनु भयो । बिजुली बाट धेरै पैसाको विल तिर्नु पर्ने भएकोले सोलारबाट नै उत्तम हुने उहाँको भनाइ छ ।
६ किलो मिटर टाढाबाट खानेपानी ल्याउँदा यसको दिगो विकास हुन नसकेको गङ्गा प्राथामिक विद्यालय नाम्राकी प्रधानाध्यापक चित्रकला शर्माले बताउनु भयो । उहाँले घरघर भएको धारामा पानी नआउँदा स्कुल विद्यार्थी भेरी नदीको पानी खान बाध्य भएको समेत बताउनु भयो ।
यता बनगाड कुपिण्डे नगरपालिकाका उप मेयर पुरुषोत्तम आचार्यले भेरी नदीको पानी खाइरहेको आफूहरूलाई जानकारी नभएको बताउनु भयो । पहिलो पटक जानकारी आएकोले त्यसको सत्यतथ्य बुझेर छिटै सुद्ध खानेपानी व्यवस्थापन गर्ने बताउनु भयो ।
६ किलोमिटर टाढा बनगाड कुपिण्डे ३ को छिपछिपे देखि नाम्रासम्म तीन वर्ष अघि खानेपानी योजना सञ्चालन गरिएको थियो । खानेपानी सिचाइ तथा ऊर्जा विकास कार्यालयको ४५ लाख र ७ लाखको जनश्रमदान गरि जम्मा ५२ लाखमा खानेपानी योजना सम्पन्न भएको थियो । तीन वर्ष नहुँदै योजना बिग्रिएपछि स्थानीयले पुनः भेरी नदीको पानी खान बाध्य भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्