विद्युत उत्पादनबाट देशको अर्थतन्त्र आत्मनिर्भर हुने सपना पुरा गर्न सरकार लागिपरेको छ : प्रधानमन्त्री

भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार विद्युत् उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पुरा गर्न लागिपरेको बताउनुभएको छ ।
भरतपुर २२० र १३२ किलोभोल्ट(केभी)सब स्टेसन र हेटौँडा-भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले भन्नुभयो,’यसका लागि सरकारले निजी लगानीकर्तालाई विद्युत् उत्पादनमा प्रोत्साहन गरेको छ ।’
उहाँले अन्तर्देशीय ट्रान्समिसन लाइन विस्तार गरी विद्युत् व्यापारलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,-‘हालैको भारत भ्रमणमा भारत सरकारसँग विद्युत् खरिदमा भएको समझदारीले यसका लागि सकारात्मक पहल भएको छ ।’

उहाँले बङ्गलादेशसँग विद्युत् व्यापारको ढोका खुलेको बताउनुहुँदै आसन्न चीन भ्रमणमा पनि विद्युत् व्यापारको सम्भावना रहेको बताउनुभयो ।
प्रधानमन्त्रीले आफूहरूको जोड बढिभन्दा बढी स्वदेशमा विद्युत् खपत गरी जनताको जीवनस्तर उकास्ने तर्फ नै सरकारको जोड रहेको पनि स्पष्ट पार्नुभयो । उहाँले विद्युत् विकासमा उत्पादन, प्रसारण र वितरणको नीति लिनुपर्ने बताउनुभयो ।
नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र युरोपेली लगानी बैङ्क(ईआइबी)को सहुलियतपूर्ण ऋणमा सब स्टेसन र नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैङ्कको सहुलियतपूर्ण ऋणमा हेटौँडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो ।
सब स्टेसन २०७७ को असारमा ठेक्का लागेर २०८० को साउनमा निर्माण सम्पन्न भएको थियो । यसको कूल लागत एक अर्ब ५२ करोड छ ।

हेटौँडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइनको लम्बाइ करिब १४७ किलोमिटर छ । ७ अर्ब ९४ करोड कूल लागतमा निर्माण सम्पन्न भएको यो प्रसारण लाइनबाट एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने क्षमता छ ।
हेटौँडा-भरतपुर- भरतपुर-बर्दघाट दुई खण्डमा विभाजन गरी यसको निर्माण गरिएको थियो । मकवानपुरको हेटौँडा उपमहानगरपालिका चौकी टोलस्थित पुरानो हेटौँडा सब स्टेसनबाट नयाँ भरतपुर सब स्टेसनसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटलाई १३२ केभीमा चार्ज गरिएको छ ।
दोस्रो खण्डअन्तर्गत नयाँ भरतपुर सब स्टेसनबाट सुरु भई बर्दघाट सब स्टेसनमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनलाई हाल १३२ केभीमा सञ्चालनमा ल्याइएको छ ।

प्रसारण लाइनको क्षमता सुदृढीकरण, नेपालको एकीकृत विद्युत् प्रणाली विश्वसनीय बनाउन पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि हेटौँडा(भरतपुर(बर्दघाट प्रसारण लाइन निर्माण गरिएको हो ।
नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैङ्कको सहुलियतपूर्ण ऋणमा आयोजना सुरु गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्