तपाईँ सुन्दै हुनुहुन्छः

ज्येष्ठ नागरिकको घरमै गएर निःशुल्क स्वास्थ्य परीक्षण

चितवन । चितवनको कालिकामा ८० वर्षभन्दा माथिका घरमै गएर निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।  

नगरपालिकाले नगरपालिका क्षेत्र भित्र रहेका करिब ६५० जना ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण एवं उपचार गर्ने हेतुले यो कार्यक्रम सुरु गरेको हो । 

नगरपालिका भित्रका १ देखि ११ वटै वडाका स्वास्थ्यकर्मीहरू घरघरमा प्रत्येक२÷२ महिनामा पुगेर ज्येष्ठ नागरिकको प्रेसर (उच्च रक्तचाप), सुगर, चेकजाँच, पिसाबमा प्रोटिनको मात्रा, स्वास्थ्य परामर्श र  औषधि वितरणका लागि कार्यक्रम सुरु गरिएको मेयर विनोद रेग्मीले जानकारी दिनुभयो । 

ज्येष्ठ नागरिक र  विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा भने नगरपालिकाले गरिदिएको छ । प्रत्येक घरघरमा स्वास्थ्यकर्मी पुगेर दिर्घरोगी पहिचान, उनीहरूको स्वास्थ्य अवस्था र औषधि सेवन बारे अनुगमन गरेको मेयर रेग्मीले बताउनु भयो  ।नगरपालिकाले अभियानकै रूपमा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिरहेको प्रमुख रेग्मीको भनाई छ । 

जटिल रोग भएका बिरामीहरूलाई नेपाल सरकारले निर्धारण गरेको मापदण्ड अनुसार नगरपालिकाको तर्फबाट सेवा सुविधा उपलब्ध गराउँदै आएको प्रमुख रेग्मीले बताउनुभयो  । 

कालिका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले कार्यक्रम निकै प्रभावकारी भइरहेको बताउनुभयो  । “यो कार्यक्रममा रातो कार्ड पाएका र अपाङ्गता भएका व्यक्तिहरूलाई समेटेका छौँ, ५२ जना रातो पाएर अपाङ्ग भएका व्यक्ति छन् । प्रत्येक दुई दुई महिनामा करिब ६५० जनाको घरदैलोमा पुगेर यो कार्यक्रम गरिरहेका छौँ ।” भण्डारीले भन्नुभयो । 

आधारभूत स्वास्थ्य सेवा स्थानीय तहको एकल अधिकारभित्र पर्ने भएकाले ज्येष्ठ नागरिक घरमै बिरामी परेर बस्नु पर्ने अवस्थालाई सुधार गर्नलाई यो अभियान सञ्चालन गरेको उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button