बजारमा अर्ग्यानिक टुसा र डौंडे निउरो बेचेर राम्रो आम्दानी (फोटोफिचर)

म्याग्दी । वर्षाको सिजनमा जङ्गलमा पाईने निगालोको टुसा र डौंडे निउँरो बजारमा पुर्याएपछि किन्नेको हानथाप हुने गरेको छ । म्याग्दीको सदरमुकाम बेनी बजारमा व्यापारीले टुसो र निउँरो बिक्रीबाट राम्रो आम्दानी गरेका छन् । बजारका सबै तरकारी पसलमा टुसा र निउरो बिक्रीका लागि राखेका छन् । गाउँकालाई टिपेर बजार पठाउन भ्याई नभ्याई छ ।
स्वादिलो तरकारीको रुपमा परिचित ग्रामीण क्षेत्रमा पाइने निगालोको ‘टुसा’ र निउँरोको तरकारी र अचारको रुपमा धेरैले रुचाउने हुँदा बजारमा किन्नेको हानथाप हुने गरेको छ ।
टुसाको शहरी क्षेत्रमा अत्यधिक माग भएकोले ‘टुसा’ भाँच्न ग्रामीण भेगका बासिन्दाहरू लेकका जङ्गल पुग्ने गर्दछन् । प्रायः वर्षायाम सकिएर साउन देखि असोज महिनासम्म जङ्गलमा टुसा पाइन्छ । दुई हजारदेखि चार हजार मिटर उचाइका जङ्गलहरूमा पाइने निगालोको टुसा ग्रामीण भेगका नागरिकका लागि आम्दानीको राम्रो स्रोत बनेको छ ।

बेनी नगरपालिका– २ बगरफाँट बस्नुहुने चनमाया विश्वकर्माले रघुगंगा गाउँपालिका-६ झिँबाट छोरीले वनबाट टिपेर पठाएको टुसा बिक्रीका लागि सदरमुकाम बेनीस्थित विरेन्द्रचोकमा बस्नुभएको थियो । उहाँले एकसय रुपैयाँका दरले उक्त टुसाको मुठो बेच्नुभएको थियो ।
त्यस्तै रघुगंगा गाउँपालिका–६ झिँबाट हिरा कुमारी विटालुले लिएको निउँरो पनि विरेन्द्रचोकको चौतारमा राख्नुभएको थियो । उहाँले राखेको निउँरोे विभिन्न कामले बजारमा आएका सेवाग्राहीले किन्नेको हानथाप थियो । “आज गाउँबाट ६० वटा मुठा लिएको थिए, बिक्री राम्रो भएको छ”– विटालुले भन्नुभयो । “बिक्रीबाट भएको आम्दानीले घरखर्च चलाउन सहयोग पुग्छ ।”
म्याग्दीको विभिन्न भागको वनजंगलमा पाईने टुसा, निउँरो र रातो च्याउको माग बजारमा बढ्दो छ । पछिल्लो समय बजारमा माग बढेपछि गाउँमा बस्नेहरूले फुर्सद मिलाएर टिपेर बजारमा बिक्री लागि पसलमा पठाउने गर्छन् । वर्षायाममा गाउँको मुख्य आम्दानीको स्रोत टुसा र निउरोको बिक्रीबाट गरेका छन् ।














प्रतिक्रिया राख्नुहोस्