तपाईँ सुन्दै हुनुहुन्छः

गीत सङ्गीतको माध्यमबाट वन तथा वातावरण संरक्षण गर्न मेची महाकाली यात्रा 

सल्यान । वन तथा वातावरण संरक्षणका लागि भन्दै गन्धर्व समुदायका कलाकारहरूले सारङ्गी सङ्गीतको मेची महाकाली यात्रा जारी राखेका छन् । बाँकेको कोहलपुर ११ का कलाकारहरू सारङ्गी र मादलको मिठो धुन सँगै वन जोगाउने सन्देश दिँदै सल्यान आइपुगेका छन्  ।

नेपाल कला सङ्गीत मञ्चमा आबद्ध ६० वर्षीय प्रेम बहादुर गन्धर्व, ५५ वर्षका दिल बहादुर गन्धर्व, शेर बहादुर गन्धर्व र ५१ वर्षीय भिम बहादुर नेपालीले मेची महाकाली यात्रा अन्तर्गत विभिन्न जिल्लामा रुख रोपौँ, वन जोगाऊँ भन्ने सन्देश सहित मौलिक रुपमा सारङ्गी सङ्गीत सहितको प्रस्तुती दिइरहेका छन् । 

२०७९ सालबाट कर्णाली प्रदेशको सुर्खेतबाट यात्रा सुरु गरेको गन्धर्व समुदायका कलाकारहरूको समूहले अहिले सम्म दैलेख, मुगु, हुम्ला, कालिकोट, अछाम, डोल्पा, रुकुम, प्युठान,सल्यान सहित २२ वटा जिल्लामा बन तथा वातावरण सम्बन्धी सन्देशमूलक र चेतनामूलक गीत गाउँदै प्रस्तुती गरेको प्रेम बहादुर गन्धर्वले जनाए ।

सबैलाई मोहित बनाउने सारङ्गीको धुनसँगै गन्धर्व जातिले मनोरञ्जनका माध्यमबाट नागरिकलाई सूचना दिने चलन पछिल्लो समय हराउँदै गएको छ । नेपालको मौलिक बाजा सारङ्गीको जगेर्ना सँगै वन जोगाउने अभियानलाई समेत अघि बढाउन सङ्गीत यात्रामा निरन्तर लागि परेको दिल बहादुर गन्धर्वले बताउनुभयो ।  

भाषणको माध्यमबाट व्यक्त गरिएको सन्देश भन्दा गीत सङ्गीतको माध्यमबाट दिइएको सन्देश सबैले सजिलो सँग बुझ्न सक्ने र प्रभावकारी हुने भएकाले पनि आफूहरू यो अभियानमा लागेको सारङ्गी गन्धर्वको भनाई छ । विशेष गरेर सन्देशमूलक र चेतनामूलक गीत गाउने उनीहरूले दर्शक श्रोताको चाहाना अनुसार ठट्यौली गीत गाएर मनोरञ्जन समेत दिने गर्दछन् ।

गन्धर्व समुदायका कलाकारहरूले सुरुवात गरेको अभियानले बन जन्य तथा प्राकृतिक सम्पदा संरक्षणमा टेवा पुर्‍याउने कपुरकोट गाउँपालिकाका कार्यवाहक अध्यक्ष प्रकाश भण्डारीले बताउनु भयो । उहाँले गाउँपालिकाले कपुरकोट जागरण अभियान चलाएको जनाउँदै जागरण अभियान अन्तर्गतको कार्यक्रम मार्फत सारङ्गी सर्जकहरू सँग सहकार्य गरिने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button