रानाथारु समुदायका महिलाहरू रमाए तीज पर्वमा
कञ्चनपुर । कञ्चनपुर र कैलालीमा बसोबास गर्दै आएका रानाथारु समुदायका महिलाहरूले आज सावनको डोला र तीज पर्वमा रमाएका छन् ।

हरेक वर्ष श्रावण शुक्ल पक्षको तृतीया तिथिका दिन रानाथारु समुदायले तीज पर्व मनाउने गर्दछन् । रानाथारु समुदायले तीजलाई दिदीबहिनी र दाजुभाइको आत्मीयता बढाउने महत्त्वपूर्ण पर्वका रूपमा लिने गर्दछन् ।
कला संस्कृतिका धनी मानिने रानाथारु समुदाय नेपालमा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र कैलाली जिल्लाका आदिवासी हुन् । त्यही रानाथारु समुदायमा हरेक वर्ष असार शुक्ल पूर्णिमादेखि गाउँका सबै जना पायक पर्ने ठाउँमा सावनको डोला अर्थात् पिङ राखी खेल्ने र श्रावण शुक्ल पक्षको तृतीया तिथिका दिन तीज पर्व मनाउने प्रचलन रहेको रानाथारु संस्कृतिका जानकार कञ्चनपुरको बेलौरीका शिवराज रानाले बताउनुभयो ।

रानाथारु समुदायले तीजलाई दिदीबहिनी र दाजुभाइको आत्मीयता बढाउने महत्त्वपूर्ण पर्वका रूपमा लिने गर्दछन् ।
दिदीबहिनीले पानी समेत नपिएर निराहार व्रत बसी दाजुभाइ र भतिजाहरूको उन्नति, प्रगति र दीर्घायुको कामना गर्दै प्रसादका रूपमा परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाउने गरेको रानाथारु समुदायकी महिला आशिकी राना बताउनुहुन्छ ।
लामो समयसम्मको सङ्घर्ष र बलिदानबाट वि.सं. २०७६ माघ २० गतेका दिन नेपाल सरकारले रानाथारु समुदायलाई आदिवासी जनजातिका रूपमा अलग्गै सूचीकृत गरेको थियो भने भाषा आयोगमा समेत स्थान पाइसकेको छ । अहिले रानाथारु भाषाको स्थानीय पाठ्यक्रम र व्याकरण तयार गर्ने कार्य सम्पन्न भएको छ ।
अब राज्यका प्रत्येक निकायमा अन्य समुदाय जस्तै रानाथारु समुदायको समेत समानुपातिक प्रतिनिधित्व गराउनुपर्ने र रानाथारु समुदायको मौलिक कला, संस्कृति एवं भेषभुषालाई संरक्षण गर्न मद्दत पुग्ने गरी रानाथारु विकास परिषद् गठन गर्नुपर्ने आवश्यकता रहेको नेपाल रानाथारु समाजका केन्द्रीय अध्यक्ष तथा पूर्वसांसद एवं संविधान सभा सदस्य कृपाराम रानाको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्