बुटवलमा मिडिया सम्मेलन सुरु
रुपन्देही । बुटवलमा शुक्रबार मिडिया सम्मेलन सुरु भएको छ ।
सम्मेलन उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मिडिया बलियो भए मात्र सरकार बलियो हुने बताउनुभयो । उहाँले सरकारको आलोचना गरेर लेख्न सञ्चार माध्यम र पत्रकारहरूलाई आग्रह गर्नुभयो । मुख्यमन्त्री चौधरीले सकारात्मक आलोचनाले मात्रै सरकारलाई सही मार्गदर्शन गरी गल्ती कमजोरी सच्याउन मौका मिल्ने बताउनुभयो ।

उहाँले राजनीतिक परिवर्तनमा मिडियाहरूको ठूलो योगदान रहेको स्मरण गर्दै मिडियाको सबलीकरणमा प्रदेश सरकार साथमा रहेको उल्लेख गर्नुभयो । मुख्यमन्त्री चौधरीले सरकारको प्राथमिकता विकास र समृद्धि भएकाले त्यसमा साथ दिन सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो ।
प्रदेश सरकारले वर्षमा २ लाख जनालाई रोजगारी दिने लक्ष्य लिएको र प्रदेशभरि त्यसको सम्भावना रहेको दाबी गर्नुभयो। ‘हामीसँग बुद्ध जन्मस्थल लुम्बिनी, स्वर्गद्वारी, आदिवासी जनजातिका संस्कृतिहरू र प्रशस्त हिल स्टेसनहरू छन्’–चौधरीले भन्नुभयो –‘प्रदेशको समृद्धि र लगानीका लागि सरकारले अन्तर्राष्ट्रिय स्तरमा पनि छलफल गरिरहेको छ ।’
व्यक्तिगत रुपमा अनुदान माग्न नआउन आग्रह गर्दै मुख्यमन्त्री चौधरीले सञ्चार संस्थालाई संस्थागत रुपमा मात्रै अनुदान रकम दिने सरकारको नीति रहेको स्पष्ट पार्नुभयो।
सम्मेलनमा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत,अग्रज पत्रकारहरू कनकमणि दीक्षित, युवराज घिमिरे, डा. बालकृष्ण चापागाईँ लगायतले सञ्चार माध्यमहरूले बहुआयामिक चुनौतीहरूको सामना गरिरहेको बताउनुभयो।
सम्मेलनमा प्रदेशभरका छापा, विद्युतीय र अनलाइन गरी करिब दुई सय जना सञ्चार उद्यमी र पत्रकारहरूको सहभागिता रहेको छ । सम्मेलनले मोफसलका मिडियाहरूको सबलीकरण, पत्रकारहरूको रोजगारीको सुरक्षा, विज्ञापन दररेटमा एकरूपता लगायतका विषयमा घोषणापत्र जारी गर्ने प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुँवरले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्