डडेल्धुरा मेडिकल कलेजमा ५ विषयको पढाई सुरु गर्ने तयारी

डडेल्धुरा । डडेल्धुरा मेडिकल कलेजमा ५ विषयको पढाई सुरु गर्न प्रक्रिया अगाडि बढाइएको छ ।
सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायको डडेल्धुरामा रहेको डिन कार्यालयले अध्यापन सुरु गर्न प्रक्रिया अगाडि बढाएको हो ।
५ विषयमा अध्यापन सुरु गर्नका लागि उपप्राध्यापक र सहप्राध्यापक माग गरिएको डिन हेमनाथ जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी, पब्लिक हेल्थ, फार्मेसी, फिजोयोथेरापी र बिएसी नर्सिङका कक्षा सञ्चालन गर्नका लागि १७ जना उपप्राध्यापक र सहप्राध्यापक भर्ना गर्न आवेदन खुला गरिएको छ ।
“माइक्रोबायोलोजीका लागि एक जना सहप्राध्यापक, प्याथोलोजी, एनाटोमी, साइक्लोजी, बायोक्यामेस्ट्रीका लागि १/१ उपप्राध्यापक तथा फार्मेसी, पब्लिक हेल्थ, फिजोयोथेरापीका र नर्सिङ साइन्सका लागि ३/३ जना उपप्राध्यापक माग गरेका छौँ,” उहाँले भन्नुभयो ।
सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेजका रुपमा सञ्चालन गर्ने भन्दै घोषणा गरेपछि जिल्लामा डिनको कार्यालय स्थापना भएको थियो । डिनको कार्यालयले पाठ्यक्रम तयार गरिसकेको छ । यस्तै मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा ८४ रोपनी जग्गा दर्ता भइसकेको छ । त्यसैगरी डडेल्धुरा अस्पतालको नाममा दुई सय ३४ रोपनी जग्गा छ ।
प्रतिक्रिया राख्नुहोस्