तपाईँ सुन्दै हुनुहुन्छः

फिलिपिन्सको निर्वाचन प्रणालीसम्बन्धी कानुन निर्माणमा डा रिजाल सहभागी

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजाल फिलिपिन्सको एक प्रदेश बांसामोरोमा त्यहाँको प्रदेशसभाले निर्माण गर्न लागेको समावेशी निर्वाचन प्रणालीसम्बन्धी कानुन निर्माणमा एक परामर्शदाताका रूपमा सहभागी हुनुभएको छ ।

आफूले सो कानुन निर्माणका लागि एक जना अन्तर्राष्ट्रिय परामर्शदाताका रूपमा काम गरिरहेको डा रिजालले जानकारी दिनुभयो । लामो समयको द्वन्द्वपछि शान्ति प्रक्रियामा आएको फिलिपिन्सको बांसामोरो स्वायत्त मुस्लिम प्रदेश हो ।

त्यहाँ सन् २०२५ मा तोकिएको निर्वाचनका लागि हाल त्यहाँ समावेशी निर्वाचन प्रणालीको कानुन निर्माण भइरहेको छ । सोही कानुन निर्माणमा डा रिजाल सहभागी हुनुभएको हो ।

सो निर्वाचनमा विभिन्न आठ वटा क्लस्टरको प्रतिनिधित्व गराउने गरी कानुन निर्माण गर्ने तयारी रहेको डा रिजालले जानकारी दिनुभयो । महिला, युवा, उलामा (इस्लाम गुरु), सुल्तान र सुल्तानका प्रतिनिधि गैर मुस्लिम आदिवासी जनजाति, फिलिपिन्सको मूल प्रदेशबाट बसाइँ सरी यहाँ आएका बासिन्दा समेतको सहभागितामा निर्वाचन गराउने र सोहीअनुसार कानुन बनाउनुपर्ने जानकारी उहाँले दिनुभयो ।

सो परामर्शदाता समूहले त्यहाँका स्थानीय बासिन्दा, विभिन्न क्लस्टरका प्रतिनिधि, राजनीतिक नेतृत्व, मुख्यमन्त्री, सभामुख लगायतसँग आवश्यक छलफल र परामर्श गरिरहेको छ । सन् २०२५ मा हुने निर्वाचनमा सबै पक्षको सहभागिता गराउने काम चुनौतीपूर्ण रहेको र सोहीबमोजिमको निर्वाचन प्रणालीको कानुन निर्माणमा यहाँको नेतृत्व सचेत रहेको आफूले पाएको डा रिजालले बताउनुभयो ।

अमेरिकाको न्यूयोर्क युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएका रिजाल अध्यापनमा पनि संलग्न हुनुहुन्छ । अन्तर्राष्ट्रिय कानुनका जानकार उहाँ विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा यसैगरी परामर्शदाता एवं विषय विज्ञका रूपमा सहभागी हुँदै आउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button