तपाईँ सुन्दै हुनुहुन्छः

मस्तिष्क, मेरुदण्ड र परिधीय तन्त्रिका विकारबाट वार्षिक २० हजारको मृत्यु

सुर्खेत । नेपालमा वार्षिक दुई लाख मानिसहरू मस्तिष्क, मेरुदण्ड र परिधीय तन्त्रिका विकारबाट प्रभावित हुने गरेको पाइएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित प्रदेश अस्पताल सुर्खेतको न्यूरो सर्जरी इकाइको दोस्रो वार्षिक उत्सव तथा न्यूरोट्रामाको दोस्रो राष्ट्रिय गोष्ठी कार्यक्रममा वार्षिक दुई लाख मानिस मस्तिष्क, मेरुदण्ड र परिधीय तन्त्रिका विकारबाट प्रभावित हुने गरेकामध्ये जटिल प्रकारका २० प्रतिशत बिरामीको मृत्यु हुने गरेको जानकारी गराइयो ।

नेपाल न्यूरो सर्जन समाजका केन्द्रीय अध्यक्ष डा. प्रवीण श्रेष्ठले अधिकांश मस्तिष्क, मेरुदण्ड र परिधीय तन्त्रिका विकारबाट प्रभावित हुनेमध्ये अधिकांश चोटपटक लागेर हुने गरेको बताउनुभयो । उहाँले कर्णाली जस्ता दुर्गममा समेत मापसे सेवन गरेका व्यक्ति दुर्घटनामा परि बढी चोटपटक लागेर मृत्यु समेत हुने जनाउनुभयो । उहाँले न्यूरो सर्जरीको स्रोतसाधन बढी काठमाडौँमै केन्द्रित भएकाले यसलाई सुदूर ग्रामीण क्षेत्रसम्म पुर्‍याउन आवश्यक रहेको औँल्याउनुभयो ।

कार्यक्रममा प्रदेश अस्पताल सुर्खेतका न्यूरो सर्जरी इकाई प्रमुख डा. निलम खड्काले गत आर्थिक वर्षमा अस्पतालबाट ४९७ जना मस्तिष्क, मेरुदण्ड र परिधीय तन्त्रिका विकारबाट प्रभावितहरूको सफल उपचार गरिएको जानकारी दिनुभयो । उहाँले मस्तिष्क, मेरुदण्ड र परिधीय तन्त्रिका विकारबाट प्रभावित जटिल खालका बिरामीलाई सरकारले एक लाख रुपैयाँसम्म सहुलियत दिने गरेकाले उपचारका लागि प्रदेश अस्पतालको न्यूरो सर्जरी इकाइमा आउनेहरूको सङ्ख्या वर्षेनी बढिरहेको बताउनुभयो ।

अहिले पनि सुर्खेत बाहेक कर्णालीका दुर्गम क्षेत्रमा न्यूरो सर्जरी जनशक्तिको अभाव कायमै रहेको उहाँको भनाइ थियो । प्रदेश अस्पतालले दुई वर्षदेखि ओपिडी, ओटी र ईआर न्युरो सर्जरी सेवा सुरु गरे पनि गत फागुनदेखि न्यूरो आइसियु सेवा दिन थालेको छ ।

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका (प्रमुख) प्रहरी उपरीक्षक रामप्रकाश शाहले कर्णालीमा ट्राफिक सचेतना कार्यक्रमले गत वर्षहरूको तुलनामा यस वर्ष सवारी दुर्घटनामा कमी आएको बताउनुभयो ।

प्रदेश अस्पतालका निर्देशक डा.डम्बर खड्काले मस्तिष्क, मेरुदण्ड र परिधीय तन्त्रिका विकारबाट प्रभावित हुनेको सङ्ख्या घटाउन प्रदेश सरकारहरूले सवारीदेखि अन्य दुर्घटनामा कमी ल्याउन व्यापक जनचेतना फैलाउन आवश्यक रहेको औँल्याउनुभयो ।

कार्यक्रममा डा. सन्नी थापा, डा. शशी खड्का लगायतले मस्तिष्क, मेरुदण्ड र परिधीय तन्त्रिका विकारका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button