सेवा प्रवाहमा सबै तहका कर्मचारीको समान दायित्व : मन्त्री शर्मा

प्युठान । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सबै तहका कर्मचारीले राज्य सञ्चालनमा समान दायित्व महसुस गरेर सेवा प्रवाहका काम गर्नुपर्ने बताउनुभएको छ । सरकारले सुशासनलाई प्राथमिकतामा राखेको र सुशासन सेवा प्रवाहबाट नै सम्भव हुने भएकाले सबै तहका कर्मचारीले समान दायित्वका साथ काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
प्युठानको सदरमुकाम खलंगामा आयोजित सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरूसँगको भेटघाटमा उहाँले सुशासनको सवाल एउटा निकायले मात्र गरेर नहुने बताउनुभयो । ‘सुशासन प्रधानमन्त्री र मुख्यसचिवले कायम गरेर मात्र हुने होइन । मन्त्री र मन्त्रालयका सचिवहरूले मात्र गरेर हुने विषय पनि होइन’– सरकारका प्रवक्तासमेत रहनुभएको मन्त्री शर्माले भन्नुभयो– ‘ती निकायले निर्देशित गर्ने पक्कै हो तर जिल्ला र तलतलसम्म रहेका कार्यान्वयन इकाईले राम्रो काम गरे मात्रै सुशासन सम्भव हुने हो ।’
आम सेवाग्राही माथिल्लो तहका पदाधिकारी र कर्मचारीसँग सम्पर्क नहुने भएकाले पनि सबैभन्दा तल्लो तहमा रहेका कर्मचारीले जति राम्रो सेवा प्रवाह गर्छन्, जनताले त्यति नै राम्रो सेवा प्राप्त गर्ने र सुशासन कायम हुने पनि उहाँले स्पष्ट गर्नुभयो । ‘तपाईँ राम्रोसँग सेवाग्राहीसँग बोलिदिनुभयो भने मात्रै पनि सेवा प्रवाह प्रभावकारी भएको मानिन्छ’– उहाँले कर्मचारीलाई सम्बोधन गर्दै भन्नुभयो– ‘जनताको कामसँग प्रत्यक्ष जोडिने कार्यालयमा सुब्बा, खरिदार, अस्पतालका नर्स आदिले गर्ने काममार्फत सरकारको व्यवहार प्रस्तुत हुने गर्दछ । त्यसैले जनतासँग जोडिएर काम गर्ने कर्मचारीहरूको सेवा प्रवाह र बोली व्यवहार राम्रो बनाउनुहोला ।’ पिँधमा बसेर काम गर्ने कर्मचारीबाट नै सरकारको सफलता असफलता निर्धारण हुने भएकाले सरकारले पनि तल्लो तहका बसेर काम गर्ने कर्मचारीहरूको उच्च मूल्याङ्कन गर्ने नीति लिएको उहाँले बताउनुभयो ।
केही दिनअघि भएको नेपाल सरकारको वार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत प्रधानमन्त्रीको सम्बोधनलाई मार्गदर्शनको रुपमा लिएर सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानलाई सहयोग पुग्ने गरी हरेक निकायले कार्ययोजना बनाउनुपर्ने पनि मन्त्री शर्माले स्पष्ट गर्नुभयो । उहाँले राजनीतिक र प्रशासनिक नेतृत्वबिचमा राम्रो बुझाइ र समझदारी आवश्यक रहेको पनि बताउनुभयो ।

नेपालमा सरकारले धेरै गर्न खोजे पनि राजनीतिक र प्रशासनिक नेतृत्वबिच पूर्ण समझदारी नहुँदा अपेक्षित नतिजा प्राप्त नहुने उल्लेख गर्दै उहाँलाई यो असमझदारी हटाउनै पर्ने बताउनुभयो । ‘त्यसका लागि हामीले केन्द्रमा प्रधानमन्त्री, मन्त्रीदेखि मुख्य सचिव सचिवहरूसम्म दोहोरो संवाद गर्ने सोच बनाएका छौँ, सरकार सञ्चालनका सवालमा हामीबाट कमजोरी भएका छन् भने पनि प्रशासनिक नेतृत्वले भनिदिनुपर्छ र प्रशासनिक नेतृत्वबाट हुने कमजोरी पनि राजनीतिक नेतृत्वले सच्याएर लैजानुपर्छ भन्ने लागेको छ’– मन्त्री शर्माले भन्नुभयो । प्रधानमन्त्रीले घरभित्रको मान्छे भए पनि नछोड्ने भन्नुभएको छ’ ।
यसैबीच मन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार सुशासन र भ्रष्टाचारविरुद्ध प्रतिबद्ध रहेको उल्लेख गर्दै घरभित्रकै मान्छे भए पनि नछाडिने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ प्युठान शाखाले गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सरकार सुरुदेखि नै विकृति,विसङ्गति अन्त्य र सुशासन कायम गर्दै भ्रष्टाचार अन्त्यका लागि निर्मम ढङ्गले अगाडि बढेको बताउनुभयो ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले भ्रष्टाचारमा मै परेपनी मेरो घरकै मान्छे संलग्न भएपनि नछाड्ने बताएको जानकारी दिँदै मन्त्री शर्माले सुन तस्करी, ललिता निवास,भुटानी शरणार्थीलगायत सबै प्रकरणलाई निष्कर्षमा पुर्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘सरकारले भष्ट्राचारसँग जोडिएका सबै प्रकरणको मिहिन ढंगले अनुसन्धान गरिरहेको छ, छिट्टै निष्कर्षमा पुग्छौँ ।’
सुशासन कायम गर्न र सेवा प्रवाहलाई चुस्त बनाउने कुरामा सरकारले प्राथमिकताका साथ काम गरिरहेको मन्त्री शर्माले सुनाउनुभयो । उहाँले गल्ती गर्ने जोसुकैलाई पनि कानुनी कारबाही हुन्छ भन्ने सन्देश दिन सरकार सफल भएको स्पष्ट गर्दै भन्नुभयो– ‘सरकारले कानुन सबैका लागी बराबर हुन्छ भन्ने सन्देश दिएको छ।’ संविधान र कानुनको मातहतमा सबै रहेकोले गल्ती गर्ने जो सुकैलाई पनि नछोड्ने गरी सरकारले स्पष्ट रुपमा काम गरिरहेको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्