विपद् व्यवस्थापनका लागि सबैको सामूहिक प्रयास आवश्यक

विराटनगर । विपद् पूर्व तयारीको सम्बन्धमा तयार पारिएको मोरङ जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना–२०८० सर्वसम्मत रूपले पारित गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा आज जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको बैठकले स्थानीय पालिकाका प्रमुख, उपप्रमुख, विभिन्न कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुखहरूले उक्त योजना सर्वसम्मत रूपले पारित गर्नु भएको हो ।
बैठकमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विपद् व्यवस्थापनका लागि सबै पालिकाको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो । सबै पालिकाले आ–आफ्नो क्षेत्रभित्र पर्ने खोलानालाका डिलहरूमा वृक्षारोपण रोपण अभियान चलाउन सके त्यसले तटबन्धको काम गर्ने र कटान तथा भू–क्षय समेत नियन्त्रणमा आउने उहाँको भनाई थियो ।
महानगरपालिकाका प्रमुख कोइरालाले बर्सात अगाडि नगरले नाला, पैनी तथा खोलामा रहेका फोहर सफा गरेकोले यस वर्ष यस क्षेत्रमा डुबान हुन नपाएको बताउँदै केशलिया खोलामा तटबन्धका लागि तयारी भइरहेको बताउनुभयो ।

रतुवामाई नगरपालिकाका प्रमुख नागेश्वर प्रसाद सिंहले स्थानीय खोला नाला नियन्त्रण गर्ने अधिकार पालिकालाई दिँदै सोअनुसार सरकारले पालिकाहरूलाई बजेट विनियोजित गर्नुपर्ने बताउनुभयो ।
केराबारी गाउँपालिकाका प्रमुख सुमन मिरिछिङले आफ्नो पालिकाले जनश्रमदानबाट ५० लाखभन्दा बढीको खोला नालामा तटबन्ध गरेको उल्लेख गर्नुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख अजम्बर राईले विपद्को लागि रकम व्यवस्था गर्न पालिकाहरूले आफ्नो क्षेत्रमा भएको उद्योग, व्यवसायतर्फ अनुगमन गरी राजश्व वृद्धि गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्बाहाम्फे, कानेपोखरी गाउँपालिकाका प्रमुख राजमती इङनाम, रंगली नगरपालिकाका उपप्रमुख भुमा पराजुली, डिभिजन वन कार्यालय मोरङका प्रमुख विश्वलाल घिमिरे, सशस्त्र प्रहरी कंकालनी गण टंकीसिनवारीका सशस्त्र प्रहरी उपरीक्षक तीर्थबहादुर थापाले विपद्को समयमा नागरिकको जीउ धनको सुरक्षाका लागि सामूहिक कार्य आवश्यक रहेको बताउनुभयो ।
जिल्ला विपद् व्यवस्थापनका सदस्य सचिव एवं सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साहले विपद्मा आइपर्न सक्ने खिम न्यूनीकरण त्यसको रोकथाम एवं व्यवस्थापनका लागि समितिले सबै पालिकासँग समन्वय गर्दै आइरहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्