तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस नेता भण्डारीको सफल शल्यक्रिया

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारीको सफल शल्यक्रिया गरिएको छ । 

करिब छ महिना पहिले बुद्धनगरस्थित आफ्नो घरको भान्सा कोठामा ग्यास चुहिएका कारण लागेको आगलागीमा परी घाइते हुनुभएका उहाँको आज कीर्तिपुरस्थित बर्न सेन्टरमा पाँच घण्टा लगाएर हात र पछाडिको भागको शल्यक्रिया गरिएको हो ।

अस्पतालका प्लाष्टिक सर्जन प्रा डा शङ्करमान राईले पूर्वनिर्धारित उपचार प्रक्रियाअनुसार नै उहाँको शल्यक्रिया गरिएको जानकारी दिनुभयो । उहाँको शल्यक्रियाका लागि क्यानडाबाट अमेरिकी मूलका चिकित्सक डा तिम स्प्रौलसमेत आफ्नै खर्चमा नेपाल आउनुभएको थियो ।

नेता डा भण्डारीको सर्जरीका लागि प्रा डा विडी झाको संयोजकत्वमा विशेषज्ञ टोली गठन गरी उपचार सर्जरी प्रक्रिया अगाडि बढाइएको थियो । विशेषज्ञ टोलीमा डा प्रदीपराज भण्डारी, डा तिम स्प्रौल, प्रा डा शङ्करमान राई, डा किरण नकर्मी, डा विशाल कार्की, डा अनुप सुवेदी, डा प्रविण गिरी, डा प्रज्वल श्रेष्ठ, नर्सिङ सुपरभाइजर सुष्मा डङ्गोल र ह्याण्ड थेरापिष्ट मोहनकृष्ण डङ्गोल रहनुभएको थियो ।

सांसद भण्डारी निकट काँग्रेस नेता माधव न्यौपानेले भण्डारीको पाँच घण्टा लगाएर सफल शल्यक्रिया सम्पन्न भएको र अहिले उहाँलाई होस् आएको बताउनुभयो । नेता भण्डारीलाई अहिले सघन उपचार कक्षमा राखिएको छ ।

गत फागुन ३ गते राति आगलागीमा पर्नुभएका सांसद डा भण्डारीको सुरुमा कीर्तिपुर बर्न सेन्टरमै उपचार गरी थप उपचार भारतको मुम्बइमा रहेको नेसनल बर्न सेन्टरमा गराइएको थियो । 

भारतमा ७३ दिन उपचार गराएर फर्किएपछि उहाँको गत वैशाख १९ गतेदेखि काठमाडौँको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button