तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा एक वर्षमा २४ करोड २८ लाखभन्दा बढीको सामान बरामद

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले गत आर्थिक वर्ष २०७९÷८० मा २४ करोड २८ लाख ८० हजार ९ सय ३१ रुपैयाँ बराबरको सामग्री बरामद गरी भन्सार तथा राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।  

चोरी निकासी एवम् पैठारी तथा भन्सार छलेर ल्याइएका उक्त मूल्य बराबरका विभिन्न सामग्री बरामद र सवारी साधनहरू नियन्त्रणमा लिएर सम्बन्धित कार्यालयमा बुझाइएको १३ नम्बर गणका गणपति प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले जानकारी दिनुभयो । 

थपलियाका अनुसार गत आर्थिक वर्षमा सशस्त्र प्रहरीले पर्साका विभिन्न स्थानबाट ९ करोड ८४ लाख ५३ हजार ४ सय मूल्य बराबरका विभिन्न सवारी साधन पनि नियन्त्रणमा लिइएको छ । 

जसमध्ये ५९ मोटरसाइकल, १ टाटा सुमो, ४ कार, १ पिक अप, १  सुजुकी कार, १ स्कार्पियो र ६ अटो रहेका छन् ।  

सोही अवधिमा ५० लाख ३८ हजार ७ सय ३५ रुपैयाँ बराबरको १ हजार ५९ दशमलव ७ क्यु फिट अवैध काठ पनि बरामद गरिएको थपलियाले जानकारी दिनुभयो । 

सशस्त्र प्रहरीले पर्साका विभिन्न स्थानबाट एक वर्षको अवधिमा स्रोत नखुलेको ३७ लाख २१ हजार ५ सय ९६ रुपैयाँ पनि बरामद गरेको छ । 

१ लाख ७५ हजार २ सय ७२ रुपैयाँ बराबरको सुन तथा चाँदी बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक थपलियाले जानकारी दिनुभयो । 

उहाँका अनुसार सो अवधिमा १२ करोड ६५ लाख १० हजार ३ सय ११ रुपैयाँ बराबरको  लत्ताकपडा, किराना, हार्डवेयर र इलेकट्रोनिक्स सामाग्री नियन्त्रणमा लिएर भन्सार दाखिला गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button