तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ– तराई द्रुतमार्गको डिपिआर संशोधन

काठमाडौँ । काठमाडौँ तराई–मधेस द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) संशोधन गरिएको छ । 

लागत समय र लागत मूल्य घट्ने गरी द्रुतमार्गको प्रतिवेदन संशोधन गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो । 

मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौँ–तराई –मधेस द्रुतमार्गको डिपीआर संशोधनको निर्णय गरेको हो । झन्डै रु दुई अर्ब घट्ने र निर्माणको समय पनि घट्ने गरी द्रुतमार्गको डिपीआर संशोधन भएको मन्त्री ज्वालाले बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुङ मार्ग थपिँदा सडकको लम्बाई र मूल्य दुवै घट्यो ।”

काठमाडौँ–मधेस ‘लाइफ लाइन’ का रूपमा रहेको द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ । विसं २०७४ वैशाख २१ देखि निर्माण सुरु गरिएको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग हालसम्म २५ दशमलव ५४ प्रतिशत मात्र प्रगति भएको र विसं २०८३ साल चैत मसान्तसम्म सक्ने लक्ष्य लिइएको छ । 

द्रुतमार्गको प्रगति कमजोर देखिएपछि मन्त्री ज्वालाले नेपाली सेनासँग असन्तुष्टि जनाउनुभयो । द्रुतमार्गको काम द्रुतगतिमा हुनुपर्ने भए पनि प्रगति हेर्दा आशावादी नभएको नेपाली सेनाका अधिकारीलाई मन्त्री ज्वालाले बताउनुभएको थियो । 

प्रतिवेदन संशोधन भएपछि लागत मूल्य पनि घट्ने भएको छ । रु दुई खर्ब १३ अर्ब नौ करोड ५३ लाखको लागत रहेकामा संशोधनपछि रु दुई खर्ब ११ अर्ब नौ करोड ३० लाख आयोजनाको लागत रहने भएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button