तपाईँ सुन्दै हुनुहुन्छः

चुनौतीलाई चुनौती दिइरहेकी अञ्जना

रुकुम पश्चिम । डोजर चलाउने आँट कमै महिलाले मात्र गर्न सक्छन् । यस क्षेत्रमा अन्जना केसी एउटा अब्बल र साहसी महिला बनेर चिनिनुभएको छ । आर्थिक अभाव र केही आन्तरिक तनावले गर्दा अन्जनाको मन खिन्न र निराश थियो । डोजर चलाउने तालिम सिक्ने उहाँको इच्छा थियो तर त्यो तालिम सिक्न रकम जुटाउन ठुलो सङ्घर्ष गर्नु परेको थियो । यसै कारण परिवारमा पनि दिनहुँ सानोतिनो खटपट भइरहन्थ्यो ।

एकपछि अर्को गर्दै समस्याहरू थपिँदै जान्थे । एक दिन उहाँले सीप विकासका क्षेत्र पहिचान बनाउने योजना बनाउनुभयो । जसका लागि डोजर चलाउन सिक्ने विचार उहाँको मनमा आयो । सुरुमा सक्छु की सक्दिन भन्ने लागेको थियो । केही दिन सिक्न गए पछि उहाँलाई डर लागेर सक्दैन जस्तै लाग्यो र फिर्ता हुनुभयो । तर हार भने मान्नुभएन ।

मानिसले चाहे पछि गर्न नसकिने के रहेछ र । बिस्तारै धेरै कुराहरू सिक्दै जानुभयो । मुसिकोट ३ रुकुमकी अन्जनाले बाँकेको नेपालगन्जमा रहेको सिटिजन प्राविधिक शिक्षालयमा डोजर सम्बन्धी तालिम लिनुभयो । अन्जनाको सपना अर्कै थियो । उहाँको सानैबाट गीत सङ्गीततिर रुचि थियो । गीत गाउन भनेपछि हुरुक्कै हुनुहुन्थ्यो ।

तर, परिस्थिति र बाध्यताले अर्को क्षेत्रमा काम गर्नुपर्ने भयो । ‘म अहिले एक दक्ष अपरेटर बनेकी छु’ उहाँले भन्नुभयो, ‘चरम आर्थिक अभावले मलाई एक नयाँ जीवन जीउन सिकायो र मलाई एउटा नयाँ पहिचान दिलायो ।’ सिटिजन प्राविधिक शिक्षालयले उहाँको कामबाट प्रभावित भएर प्रशिक्षकको रुपमा जागिर गर्ने अवसर प्रदान गर्‍यो । उहाँले धेरै महिला र पुरुषलाई डोजर चलाउन सिकाउँदै हुनुहुन्छ । जसमध्ये १० जना त महिला प्रशिक्षार्थी नै छन् । प्रशिक्षकको रुपमा काम गर्न पाउँदा उनको हौसला दिनप्रतिदिन बढ्दै गयो । उहाँको कमाई पनि राम्रो नै हुँदै गयो । आफु यस क्षेत्रकै पहिलो महिला हेभी प्रशिक्षक भएको उहाँको भनाइ छ ।

आफु जन्मिए हुर्केको ठाउँलाई समृद्ध बनाउने उहाँको रहर छ । अब रुकुममा बसेर काम गर्ने इच्छा भएको उहाँले बताउनुभयो । रुकुम जिल्लाका विभिन्न विकास आयोजनाहरू आफ्नै हातले सम्पन्न गर्ने धोको छ । उहाँ महिला अपरेटरहरूलाई पनि गर्न सक्छु भन्ने सोच लिएर मात्र यस क्षेत्रमा आउन सुझाव दिनुहुन्छ ।

महिलालाई हरेक क्षेत्रमा दोहोरो चुनौती भए पनि आफ्नो आत्मविश्वास बलियो भए चुनौतीहरूलाई पनि चुनौती दिँदै अगाडी बढ्न सकिने उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button