राजमार्ग विस्तारको क्रममा धुलिखेल क्याम्पस पहिरोको उच्च जोखिममा
काठमाडौं । अरनिको राजमार्ग विस्तारका क्रममा निर्माण व्यवसायीको चरम लापरबाही कारण धुलिखेल क्याम्पस पहिरोको उच्च जोखिममा परेको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको जिल्ला सदरमुकाम धुलिखेल स्थित जिल्ला प्रशासन कार्यालय काभ्रेसँगै जोडिएको धुलिखेल क्याम्पसको भवन पहिरोको उच्च जोखिममा परे पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन । सडक विस्तारका क्रममा करिब दुईसय जना भन्दा बढी विद्यार्थी पढ्ने क्याम्पस पहिरोको जोखिममा परे पनि यसतर्फ सम्बन्धित निकायको ध्यान जान नसकेको धुलिखेल क्याम्पस प्रमुख क्याम्पस प्रमुख सागरमणी तिवारीले बताउनुभयो ।

क्याम्पस प्रमुख तिवारीले यस विषयमा राजमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनी, डिभिजन सडक कार्यालय र जिल्ला समन्वय समिति काभ्रे लगायतका निकायलाई बारम्बार खबर गरे पनि कुनै सुनुवाई नभएको बताउनुभयो । उहाँले सडक निर्माण गर्ने पक्षको लापरवाहीका कारण करोडौँ करोड मूल्य बराबरका भौतिक संरचना क्षति हुनुका साथै मानवीय दुर्घटनासमेत हुनसक्ने अवस्थामा पुग्नु दुखद भएको बताउनुभयो । उहाँले आफूहरू विकासको विरोधी नभए पनि निर्माण पक्षले विकासको नाउँमा विनाश निम्ताएको बताउनुभयो । उहाँले क्याम्पसको केही भवनहरू उच्च जोखिममा रहेकाले अहिले त्यहाँबाट कुनै पनि कक्षा सञ्चालन नगरिएको बताउनुभयो ।
राजमार्ग विस्तारका क्रममा क्याम्पस भवन नै जोखिममा परेपछि विद्याथीहरु डराइ डराई अध्ययन गरिरहेको विद्यार्थीहरु बताउँछन् । विद्यार्थीहरूले उच्च जोखिमयुक्त क्षेत्रमा बसेर अध्ययन गर्नुपरेको भन्दै तत्काल समस्याका लागि पहल गरिदिन आग्रह गरे । अरनिको राजमार्ग अन्तर्गतको धुलिखेल–खावा सडक खण्ड विस्तारको काम सुरु भएको झण्डै एक बर्ष भएको छ । सडक खण्ड स्तरोन्नति तथा विस्तार गर्नका लागि सडक डिभिजन कार्यालय भक्तपुर र गौरी पार्वती निर्माण सेवा प्रालिबीच सम्झौता भएको थियो।

डिभिजन कार्यालय र निर्माण व्यवसायीबीच २२ महिनामा काम सम्पन्न गर्ने सर्तमा २०७९ जेठ २० मा सम्झौता भएको थियो। सडक स्तरोन्नति तथा विस्तारको ठेक्का पाएको निर्माण व्यवसायी कम्पनीको लापरबाहीका कारण यत्तिखेर सडक खण्डका विभिन्न भागमा पहिरो खस्नसक्ने उच्च जोखिम एकातिर छ भने समयमै काम नहुँदा उक्त सडक खण्डको अवस्था पनि नाजुक छ । कुल ठेक्का समयको ४० प्रतिशत समय सकिँदा करिब १२ प्रतिशत मात्रै सकिएको डिभिजन सडक विभागले जनाएको छ ।
सडक विस्तारका क्रममा निस्किएका ढुंगा बिक्रीबाट लाभ लिनका लागि ढुंगा निस्कने क्षेत्रमा बढी कटान गरिएकाले पहिरोको उच्च जोखिम निम्त्याएको स्थानीयहरुको गुनासो छ । धुलिखेल–खावा चार किलोमिटर सडक खण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्रे गर्ने योजना छ । सडक स्तरोन्नतिका लागि निर्माण कम्पनीसँग भ्याटसहित २० करोड १९ लाख रुपियाँमा सम्झौता भई काम भइरहेको छ ।
सडकलाई बलियो बनाउनका लागि यो पटक डिभिजन कार्यालयले नेपालमा नै पहिलो पटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्नुको साथै सडकलाई बलियो बनाउनका लागि दुई चरणको कालोपत्रे डिबिएम र आस्फाल कालोपत्रे गर्ने जनाएको छ । सडक बलियो र भरपर्दो बनाउने सडकडिभिजनको यो योजनामा अन्यिन्त्रित तबरले गरिएको पहाड कटानले भने गिज्जाइरहेको देखिन्छ ।









प्रतिक्रिया राख्नुहोस्