देश बनाउन युवा जुट्नुपर्छ : मन्त्री लिम्बू
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले देश बनाउन युवा जुट्नुपर्ने बताउनुभएको छ ।
२४ औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज राष्ट्रिय युवा परिषद्द्वारा आयोजित कार्यक्रममा उहाँले देश बनाउने सङ्कल्पका साथ युवा अगाडि बढ्नुपर्ने बताउनुभयो ।
“सबै मिलेर काम गर्ने हो भने देश बनाउन धेरै समय लाग्दैन”, मन्त्री लिम्बूले भन्नुभयो । देशलाई समृद्ध बनाउन युवा अगाडि बढ्नुपर्ने मन्त्री लिम्बूको भनाइ छ । युवालाई उद्यमशील बनाउन यो वर्षलाई सरकारले युवा उद्यमशीलता वर्ष मनाउन थालेको मन्त्री लिम्बूले जानकारी दिनुभयो । युवाले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायत क्षेत्रमा अग्रसर भएर नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले युवा जनशक्ति देशको विकासका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै युवालाई नेपालमा काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य र रोजगार युवा केन्द्रित गर्न सके देशको विकास हुने बताउनुभयो ।
युवा मन्त्रालयका सचिव रविलाल पन्थले युवालाई सक्षम नबनाएसम्म देश नबन्ने बताउनुभयो । रोजगारी र गन्तव्यको अनेक विकल्प भए पनि मातृभूमिको विकल्प नभएकाले युवालाई जिम्मेवार बनाउनुपर्ने बताउनुभयो ।
परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवा उद्यमशीलता वर्षको रुपमा घोषणा गरेकाले युवालाई स्वदेशभित्र नै स्वरोजगार बनाइने बताउनुभयो । उहाँले परिषद् युवाको नेतृत्वका विकास, युवाको सशक्तिकरण र उद्यमशीलताका क्षेत्रमा काम गर्न तयार रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्