तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशमा आमसञ्चार विधेयक ल्याउने तयारी भइरहेको छ : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वतन्त्रताको नाममा हाल सामाजिक सञ्जालमा अराजकता फैलिएको बताउनुभएको छ । 

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज), गण्डकीले शनिवार अर्पण गरेको कञ्चन पत्रकारिता पुरस्कार–२०८० को अवसरमा मुख्यमन्त्री पाण्डेले सामाजिक सञ्जालमा स्वतन्त्रताको नाममा अहिले अराजक वृद्धि भएको उल्लेख गर्नुहुँदै अब यसलाई नियन्त्रण गर्न आवश्यक भएको बताउनुभयो । 

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको आमसञ्चार विधेयक ल्याउने तयारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यही आर्थिक वर्षमा सञ्चार विधेयक दर्ता गर्ने तयारी भएको छ मलाई कसैलाई नियमन गर्नु छैन, यसैले पत्रकार साथीहरूको केही कुरा छलफलबाट पारित भएपछि अगाडी बढ्छौँ ।” पत्रकारिता स्वनियमन हुनुपर्ने र अराजक हुन नहुने उहाँको भनाइ थियो ।मुख्यमन्त्री पाण्डेले केही पत्रकारले गर्दा सिङ्गो पत्रकारिता क्षेत्रमा असर परेको बताउनुभयो । 

‘कञ्चन पत्रकारिता पुरस्कार–२०८०’ बाट हुमबहादुर तमु (कास्की) र सुन्दर कुमार थकाली (मुस्ताङ) लाई पुरस्कृत प्रदान गर्दै मुख्यमन्त्री पाण्डेले स्वच्छ र स्वतन्त्र रूपमा पत्रकारिता गर्ने वातावरण सिर्जना गर्न स्वयम पत्रकार नै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । 

फोनिजको २४ औँ स्थापना दिवसको अवसरमा पत्रकार द्वयलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे तथा पुरस्कारदाता व्यवसायी विमलमान गुभाजु तथा गुभाजु परिवारले पुरस्कार स्वरूप दोसल्ला, सम्मान पत्रसहित नगद २५ हजार प्रदान गरेको छ । 

पुरस्कृत व्यक्ति हुमबहादुर गुरुङले नेपाल विविधतायुक्त देशमा सम्पूर्ण समुदायको पहुँच स्थापना नभएको कारण सक्रिय रूपमा पत्रकारितामा लागेको बताउनुभयो । उहाँले पत्रकारितालाई स्वच्छ बनाउनका लागि राजनीतिक पार्टी निकट हुनु नहुने बताउनुभयो ।

पुरस्कृत सुन्दर कुमार थकालीले आफूलाई पुरस्कृत गरेको भन्दै पत्रकारितामा थप उत्साह मिलेको बताउनुभयो । कुना कुन्धरामा पत्रकारिता गरेको आज पोखरामा सम्मानित हुनुले आफ्नो पेसाप्रति थप जिम्मेवार बनाएको उहाँको भनाई थियो । 

फोनिज गण्डकीका महासचिव धन बहादुर गुरुङ र पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उनका परिवारले आफ्ना स्व. बाबुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा यो पुरस्कार स्थापना गर्नुभएको हो । 

५ लाख रुपैयाँदेखि सुरु गरिएको यस अक्षयकोषमा गुभाजु परिवारले हरेक वर्ष १ लाख थप गर्दै आएका छ र यस वर्ष पनि १ लाख थप गर्ने घोषणा गर्नुभएको छ ।  

हाल अक्षयकोषमा ९ लाख रुपैयाँ रहेको छ ।

उक्त पुरस्कारबाट यसअघि कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, बागलुङका राजेशचन्द्र राज भण्डारी, नवलपुरका केबी राना र लमजुङका आश गुरुङ पुरस्कृत भइसक्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button