तपाईँ सुन्दै हुनुहुन्छः

महत्त्वपूर्ण योजनामा युद्धस्तरमा काम गर्नुपर्छ : मन्त्री ज्वाला

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवका आयोजना, रूपान्तरणकारी योजना र अन्य महत्त्वपूर्ण योजनाहरूमा युद्धस्तरमा काम गर्न निर्देशन दिनुभएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज आयोजना गरेको प्रगति समीक्षा कार्यक्रममा उहाँले वर्षौं पहिले निर्माणका काम थालिएका योजना पटक पटक अवधि थप्दा पनि नसकिँदा नागरिकमा गलत सन्देश जाने बताउनुभयो । उहाँले यो वा त्यो बहानामा निर्माण कार्य ढिला नगर्न मातहतका निकायलाई निर्देशन दिनुभएको हो ।

मातहतका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री ज्वालाले प्रत्येक चौमासिकमा योजनाको अनिवार्य समीक्षा गर्ने चलन बसाल्नुपर्नेमा जोड दिनुभयो । त्यसले आयोजनामा आएका समस्याको पहिचान र समाधानको उपाय दिने उहाँको भनाइ छ ।

राष्ट्रिय गौरवका अधिकांश सडक आयोजनाको भौतिक प्रगति गत आर्थिक वर्षभन्दा बढी भएको छ । पूर्ण रूपमा सन्तोषजनक नभए पनि अघिल्लो आवभन्दा यस आवको प्रगति राम्रो रहेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button