तपाईँ सुन्दै हुनुहुन्छः

आईसफल पदमार्गको ‘भेडीओढार’ जहाँ चम्किन्छन् सुन्दर हिमाल (फोटोफिचर) 

म्याग्दी । धौलागिरि आइसफल पदमार्ग अन्तरगतको छोटो दुरीको रमणीय पर्यटकीयस्थलको रुपमा रुईसे–भेडिओढारलाई चिनिन्छ । रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीयस्थलको रुपमा विकसित भएको –रुईसे– भेडीओडारमा आन्तरिक पर्यटनको चहलपहल बढ्दै गएको छ । 

समुन्द्री सतहदेखि २ हजार पाँच सय मिटर उचाइमा पर्ने भेडीओढारबाट धौलागिरि, चुरेन, गुर्जा, अन्नपूर्ण, निलगिरीदेखि माछापुच्छ्रेसम्मको हिमशृङ्खलाको दृश्यहरू अवलोकन गर्न पाइन्छ । 

डाँडामा रहेको भेडीओढारमा हिउँदमा यहाँ गाउँघरका भेडा राखिन्छ। त्यसैले यसको नाउँ भेडीओढार राखिएको हो । यहाँबाट सूर्योदय र सूर्यास्तको मनोरम दृश्य लालीगुराँसको जङ्गल र भेडाबाख्राको गोठहरू र वन्यजन्तुका दृश्यसँग थप रमाउन सकिन्छ । 

यहाँबाट म्याग्दी, बागलुङ, पर्वतका दर्जनौँ बस्ती, पुनहिल, करबाकेली, टोड्के लगायतको पर्यटकीयस्थल देख्न सकिने भेढिओढारमा ठुलो ढुङ्गामा रेलिङ र छत राखेर भ्यू पोइन्ट बनाइएको छ। भ्यू पोइन्टको डिलबाट हिमालको मनोरम दृश्य, शान्त वातावरण, दर्जनौँ बस्ती अवलोकन गर्दा रमाइलो महसुस भएको भेडिओढार पुगेका आन्तरिक पर्यटक सन्तोष गौतमले बताउनुभयो ।   

भेडीओढारको बेस क्याम्पलाई रुइसे भनिन्छ। रुइसे पिकनिक स्पटका रुपमा विकसित भैसकेको छ। रुइसेसम्म सडक सञ्जाल जोडिएको छ। बिहानको समयमा पदयात्रा गरेर भेडिओढार घुम्न सकिन्छ । यहाँबाट देखिने दृश्यले मनमा आनन्द र मनोरञ्जन दुवै मिलेको बेनीबाट घुम्न पुगेका कृष्णराज पौडेलले बताउनुभयो ।

२ हजार २ सय मिटर उचाइमा रहेको रुईसमा भ्यूटावर निर्माण गरिएको छ। यस क्षेत्रमा आउने पर्यटकलाई लक्षित गरेर खाना, खाजा र आरामदायी रुपमा बस्ने तीनवटा साना होटल स्थानीयले सञ्चालन गरेका छन् ।

सदरमुकाम बेनीबाट गलेश्वर राखु पिप्ले, भगवती हुँदै रुईसे– भेडीओढार यात्रामा निस्कँदा बीच बाटोमै पर्ने राखु भगवती कोत मन्दिर पनि दर्शन गर्न सकिन्छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button