तपाईँ सुन्दै हुनुहुन्छः

हवाई टापुको जङ्गलमा डढेलो, ३६ जनाको मृत्यु

हनोलुलु  । हवाई टापुको माउई जङ्गलमा लागेको डढेलोमा परी ३६ जनाको मृत्यु भएको छ भने कयौँ घाइते भएका छन् ।

 डढेलोले हवाईका ग्रामीण क्षेत्रमा व्यापक क्षति पुर्‍याएको छ भने भवनहरू ध्वस्त भएका छन्, अस्पतालहरू भत्किएका छन् र सयौँ विस्थापित भएका छन् । माउई काउन्टीका अधिकारीहरूले बिहीबार बिहान एक विज्ञप्ति जारी गर्दै आगो निभाउने प्रयास जारी रहेको जनाएको छ । 

एघार हजारभन्दा बढीलाई माउईबाट हवाई उद्धार गरिएको छ । धेरै विमान कम्पनीले उद्धार उडान थपेका छन् भने भाडा पनि घटाएका छन् । 

तेज हावा र सुक्खा अवस्थाले हवाईको अधिकांश भागमा जोखिम बढेको छ भने आगो निभाउन हम्मे हम्मे परेको छ । आगोबाट हताश भएका केहीले समुद्रमा हाम फाल्ने प्रयास गरेका थिए । 

राष्ट्रपति जो बाइडेनले सङ्घीय सरकारसँग उपलब्ध सबै स्रोत–साधन परिचालन गरी आगो निभाउन आदेश दिनुभएको छ ।रासस /एपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button