तपाईँ सुन्दै हुनुहुन्छः

अपाङ्गता भएका व्यक्तिलाई घरैमा नागरिकता

धनकुटा। अपाङ्गता भएर हिँडडुल गर्न नसक्ने एक व्यक्तिलाई जिल्ला प्रशासन कार्यालयले घरमै पुगेर नागरिकता वितरण गरेको छ । धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं ४ खोकु स्थित भोक्राङका ३४ वर्षीया आशबहादुर राईलाई घरमै पुगेर बुधबार नागरिकता वितरण गरिएको हो ।

शरीरको कुनै पनि भाग नचल्ने गरेको सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले बताउनु भयो । उठ्न समेत नसक्ने अवस्था रहेका आशबहादुर घस्रिएर हिँड्न खोज्ने प्रयास गरेपनि हिँड्न नसक्ने राईले बताउनु भयो । नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालय ल्याउने प्रयास गरेपनि लान नसकेको परिवारजनले बताएका छन् ।

 जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अंकित मंग्रातीको टोली नागरिकता वितरणका लागी घरमै पुगेको हो । 

आशबहादुरलाई पर्डेप नेपाल धनकुटा र सहदिभुमी गाउँपालिकाको न्यायमा पहुँच कार्यक्रम अन्तर्गतको पहलमा नागरिकता प्रदान गरिएको पर्डेप नेपालका कार्यकारी निर्देशक मिनप्रसाद सुवेदीले बताउनु भयो ।

राईलाई नागरिकता दिन सहिदभुमी गाउँपालिका अध्यक्ष मनोज राई, उपाध्यक्ष रत्नश्वरी राई, पर्डेप नेपाल धनकुटाका कार्यकारी निर्देशक मिन सुवेदी, वडाध्यक्ष भिम बहादुर राई र जिल्ला प्रशासन कार्यालयका सिता सुवेदी सहितको टोली घरमै पुगेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button