अनुसन्धानका विषयमा सरकारसँग छलफल गर्न माग
काठमाडौँ । प्रतिनिधि सभा, राज्यव्यवस्था समितिका सदस्यहरुले भ्रष्टाचारका विभिन्न काण्डमा भइरहेका अनुसन्धानका विषयमा सरकारसँग छलफल गर्न माग गर्नुभएको छ ।

लामो समय समितिको बैठक बस्न नसक्दा मुलुकमा सुशासनसँग जोडिएका महत्वपूर्ण विषयमा छलफल हुन नसकेको भन्दै संसदहरुले भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सुनकाण्ड जस्ता विषयमा गृहमन्त्री र प्रधानमन्त्रीसँग छिट्टै छलफल गर्नुपर्नेमा जोड दिनुभयो ।
छलफलमा सांसदहरुले आगामी बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बोलाएर सुन काण्ड र यसका विषयमा भइरहेको अनुसन्धानबारे जानकारी लिने र अनुसन्धानलाई छिटो निष्कर्षमा पुर्याउने तथा दोषी उम्कन नदिने विषयमा ध्यानाकर्षण गराउनुपर्ने बताउनुभयो ।
बैठकमा अधिकांश सांसदहरुले संसद् अवरुद्ध भइरहेको समयमा मुलुकमा सुशासन कायम गर्ने, भ्रष्टाचार न्युनिकरणका लागि भइरहेका पहल, निजामती कर्मचारी ऐन समयमा ल्याउनु पर्ने लगायतका विषयमा छलफल गरेर सरकारलाई जिम्मेवार बनाउनु पर्नेमा जोड दिनुभयो ।

बैठकमा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले भ्रष्टाचार न्यूनीकरण गर्न सरकार प्रतिबद्ध भएर लागेका कारण भ्रष्टाचारका विषयहरू बाहिर आएको भन्दै यसलाई निष्कर्षमा पुर्याउन सरकार लागिरहेको बताउनुभयो ।
मन्त्री मोदीले भ्रष्टाचार न्यूनीकरणसँगै अर्थतन्त्रको सुधार, समाजमा रहेका असमानता अन्त्यका विषयमा समेत सरकार प्रतिबद्ध भएर काम गरिरहेको स्पष्ट पार्नुभयो ।
संघीय निजामती सेवा ऐन अव छिट्टै मन्त्रीपरिषद्मा लैजाने तयारी भइरहेको पनि मन्त्री मोदीले बैठकमा जानकारी गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्