‘विकासका लागि भ्रष्टाचार र दण्डहीनताको अन्त्य हुनुपर्छ’
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकको विकासका लागि भ्रष्टाचार र दण्डहीनताको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन काठमाडौँ शाखाले आयोजना गरेको नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई ‘प्रमाणपत्र वितरण तथा पदस्थापन’ कार्यक्रममा उहाँले भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्दै सुशासन कायम गर्न सके मुलुकको विकास हुने बताउनुभयो ।
नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले प्रेस युनियनलाई चलायमान बनाउँदै श्रमजीवी पत्रकारको मुद्दा समाधानमा वर्तमान केन्द्रीय समिति लागिपरेको बताउनुभयो । उहाँले प्रेस युनियनले २०८० साललाई प्रशिक्षण वर्ष घोषणा गरेकाले यसलाई सफल बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।
नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय महासचिव अजयकुमार राइले श्रमजीवी पत्रकारका मुद्दामा लड्न नेपाल ट्रेड युनियन कांग्रेस प्रेस युनियनसँगै रहेको बताउनुभयो । उहाँले न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको तलब समेत पत्रकारले नपाएको उल्लेख गर्दै न्यूनतम पारिश्रमिक निर्धारणका लागि नेपाल ट्रेड युनियन कांग्रेस लाग्ने स्पष्ट पार्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्