मुलुकको अर्थतन्त्र सहज बन्दै : अर्थमन्त्री महत
वीरगञ्ज । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सहज अवस्थातर्फ अगाडी बढेको र बजार चलायमान बन्दै गएको हुँदा अब आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।

मुलुकको प्रमुख भन्सार नाका एकिकृत भन्सार चौकी आइसिपी वीरगञ्जको स्थलगत निरीक्षण तथा अनुगमनपछि आयोजित कार्यक्रमलाई सम्बोधन उहाँले गर्दै सीमा क्षेत्रबाट हुने चोरी पैठारी नियन्त्रणका लागि भन्सार र प्रहरी प्रशासनबिच उच्च समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।

अर्थमन्त्री डा.महतले आइसिपी भन्सार वीरगञ्जमा थन्किएका झण्डै १८ सय भन्दा बढी सवारी साधनहरू कसरी छुट्न सक्छन् त्यसको राय सुझाव सहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्न आग्रह गर्नुभयो ।
गैरकानुनी तरिकाबाट भन्सार नाका र नाकाबाहिरबाट हुने सामानको अवैध प्रवेशलाई सरकारले गम्भीरताका साथ लिएको बताउँदै आइसिपी भन्सारलाई अझै प्रविधिमैत्री बनाउन आग्रह गर्नुभयो ।

यसैगरी, अर्थमन्त्री डा.महतले आजै वीरगञ्जमा राजस्व चुहावट नियन्त्रण समिति पर्साद्वारा आयोजित बैठकलाई सम्बोधन गर्दै चोरी तस्करी नियन्त्रण गर्न राज्यका सबै संयन्त्र सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो ।
यसैगरी अर्थमन्त्री डा.महतले आजै सिर्सिया सुख्खा बन्दरगाह भन्सार, आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साको समेत स्थलगत अवलोकन गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्