तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रीय समिति बैठक : केन्द्रीय सदस्यले केन्द्रदेखि वडा तहसम्म समन्वय गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठक आजदेखि काठमाडौँमा सुरु भएको छ । 

आजको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध र सुशासनका सवालमा पार्टी नेतृत्वको सरकारले गरेको कामहरूले जनतामा आशा जगाएको बताउनुभयो । 

अध्यक्ष प्रचण्डले जनतासँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै अभियानका रुपमा बदल्ने मूलभूत जिम्मेवारी पार्टीको रहेको पनि बताउनुभयो । 

अध्यक्ष प्रचण्डले पार्टीलाई स्थापित गराउन नेता कार्यकर्ताको समेत उत्तिकै भूमिका रहेको माओवादी पार्टीको नेतृत्वमा रहेको सरकारले राष्ट्र र जनताको पक्षमा अघि बढ्न पहल गरिरहेको स्पष्ट पार्नुभयो । 

अध्यक्ष प्रचण्डले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय राजनीतिमा ध्रुवीकरण बढिरहेको अवस्थामा माओवादी पार्टी राष्ट्र जनताको पक्षमा निष्ठाका साथ उभिँदै आएको बताउनुभयो । 

आजको बैठकमा अध्यक्ष प्रचण्डले पार्टीको राजनीतिक तथा सांगठानिक प्रतिवेदन पेश गर्नुभयो । 

अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा आगामी मङ्सिरमा विधान सम्मेलन गर्ने र पार्टी सुदृढीकरणका लागि भदौदेखि कात्तिक सम्म तीन महिने ‘जनतासँग पार्टी अभियान’ चलाउने उल्लेख छ ।  

यस्तै साङ्गठनिक प्रतिवेदनमा पार्टी केन्द्रिय अध्यक्षदेखि केन्द्रिय सदस्यहरूको कार्य विभाजनको प्रस्ताव गरिएको छ । 

केन्द्रिय सदस्यहरूलाई केन्द्रदेखि वडा तहसम्म समन्वय गर्ने र पार्टी सङ्गठनलाई सुदृढ गर्ने प्रस्ताव गरिएको छ । 

आगामी ५ दिनसम्म चल्ने केन्द्रिय कमिटी बैठकमा छलफलका लागि ५ वटा एजेण्डा प्रस्तुत गरिएको छ । 

माओवादी केन्द्रको केन्द्रीय कमिटीको आजको बैठकमा विभिन्न १८ जना सदस्यहरुले आ–आफ्नो धारणा राख्नुभयो । 

यसरी धारणा राख्ने सदस्यहरुले जनताको चाहना भावनालाई आत्मसाथ गर्दै जनचासोका सवाललाई उच्च प्राथमिकता दिई पार्टी अगाडि बढ्नुपर्ने, सरकारका कामकारबाहीको सकारात्मक अनुभूति जनताले गर्ने गरी पार्टी र सरकारले कार्यसम्पादन गर्नुपर्ने धारणा राख्नुभएको माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटाले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिनुभयो । 

माओवादी केन्द्रीय समितिको अर्को बैठक भोली बिहान ११ बजे पुनः बस्नेछ । 

यसअघि पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आजै बसेको स्थायी समिति बैठकले केन्द्रिय समितिहरूलाई समावेशी बनाउन विधान संशोधन गर्ने निर्णय गरेको थियो ।

पार्टी प्रवक्ता कृष्णबहादुर महराले स्थायी समिति बैठकमा केन्द्रिय समिति बैठकका एजेन्डाका विषयमा छलफल भएको जानकारी दिनुभयो । 

पार्टीको स्थायी समिति बैठकले आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण (लाइभ) नगर्ने निर्णय समेत गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button