उपराष्ट्रपति यादवबाट फहराइयो अग्लो राष्ट्रिय झण्डा
महोत्तरी । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको राष्ट्रिय झण्डा एक सय १० फिट उचाइमा फहराउनुभएको छ ।
महोत्तरीको मटिहानी नगरपालिका–७ तस्मैयाबाबा उद्यान परिसरमा जडान गरिएको राष्ट्रिय झण्डा उहाँले एक समारोहबिच आज फहराउनुभएको हो । यो झण्डा मुलुककै सबैभन्दा उँचो भएको दाबी गरिएको छ ।
मुलुककै प्रसिद्ध लक्ष्मीनारायण मठ अगाडि निर्मित तस्मैयाबाबा उद्यान परिसरभित्र यो झण्डा विशेष मञ्चमाथि जडान गरिएको छ । राष्ट्रिय झण्डा फहराउनअघि उपराष्ट्रपति यादवले झण्डा उभ्याइएको खम्बाछेउमै राखिएको शिलालेखको अनावरण गर्नुभयो ।
विशेष मञ्चमा जडित यो राष्ट्रिय झण्डा फहराउने (उद्घाटन गर्ने) कार्यक्रममा मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, प्रदेश मन्त्रिपरिषद्का सदस्यहरु, मधेस प्रदेशसभा सदस्य, प्रशासनिक तथा सुरक्षा निकायका अधिकारीहरूको उपस्थिति रहेको थियो ।
समारोह मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलको अध्यक्षतामा सम्पन्न भएको हो । यो राष्ट्रिय झण्डा जडान तस्मैयाबाबा उद्यान निर्माण योजनाकै अङ्ग रहेको मटिहानी नगर कार्यपालिकाको कार्यालयका प्राविधिक शाखाका प्रमुख इन्जिनियर विमलेश साहले बताउनुभयो । कूल पाँच करोड लागत इष्टिमेटको उद्यान निर्माणमा हालसम्म एक करोड १० लाख खर्च भएको र त्यसमध्ये राष्ट्रिय झण्डा जडानमा १२ लाख ५० हजार खर्च भएको प्राविधिक शाखाले जनाएको छ ।
यसैबीच, उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाली समाजको सहिष्णुता र आपसी सद्भाव विश्वमै उत्कृष्ट रहेको बताउनुभएको छ ।
आज महोत्तरीको मटिहानीमा नागरिक अभिनन्दन ग्रहण गर्नुहुँदै उपराष्ट्रपति यादवले फरक–फरक जाति, धर्म र भाषा समुदायका नेपालीको आपसी मेल र एक अर्काप्रतिको सद्भाव विश्वमै उदाहरणीय रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्