तपाईँ सुन्दै हुनुहुन्छः

झापामा तीव्र रुपमा फैलिँदै डेंगु, १६ दिनमा १९६ जनामा संक्रमण, एकको मृत्यु

भद्रपुर, झापा । झापामा डेंगु सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा बढ्दै गएको पाइएको छ ।

जिल्लामा असार ३१ गतेदेखि साउन १५ गतेसम्मको १६ दिनमा १९६ जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यस अवधिमा ९१४ जनामा डेंगु परीक्षण गर्दा ८५ महिला र १०९ जना पुरुषमा डेंगु संक्रमण देखिएको कार्यालयका सूचना अधिकारी चूडामणि लुइँटेलले जानकारी दिनुभयो ।

डेंगु सङ्क्रमितको सङ्ख्या क्रमशः वृद्धि हुँदै गएपछि साउन १ गतेदेखि दैनिक तथ्याङ्क सङ्कलन गर्न थालिएको छ ।

झापामा सोमबार मात्रै आठजना नयाँ संक्रमित फेला परेका थिए । दमकका अस्पतालहरूबाट सबैभन्दा धेरै डेंगु संक्रमित फेला परेको तथ्याङ्क छ । दमकका विभिन्न आठ वटा अस्पतालहरूबाट १३३ जना संक्रमित फेला परेको तथ्याङ्क प्राप्त भएको सूचना अधिकारी लुइँटेलले जानकारी दिनुभयो ।

त्यस्तै, बिर्तामोड नगरपालिकाबाट ४० जना, कनकाई नगरपालिकाबाट २२ जना, बुद्धशान्ति गाउँपालिकाबाट दुई, कमल गाउँपालिकाबाट पाँच र गौरादह नगरपालिकाबाट २० जना डेंगु संक्रमित फेला परेको कार्यालयले जनाएको छ । मौसमका कारण पनि डेंगुको प्रभाव बढ्दै गएको बताइन्छ ।

पानी परेको मात्राले डेंगु संक्रमण दरलाई प्रभाव पार्ने भएकाले हाल संक्रमण बढिरहेको जनाइएको छ । पानी पर्दै, घाम लाग्दै गर्नाले लामखुट्टेको लार्भा फस्टाउन मद्दत मिलिरहेको बताउँदै सूचना अधिकारी लुइँटेलले अहिलेको मौसम लामखुट्टे फस्टाउन अनुकूल रहेको जानकारी दिनु भयो ।

झापाको विर्तामोड डेंगु सङ्क्रमणको ‘हटस्पट’ बन्दै गएको बताइन्छ । वैशाख–जेठमा ८ जनाका डेंगु संक्रमण देखिएकोमा असार–साउनको हालसम्ममा डेंगु सङ्क्रमितको सङ्ख्या ५२ पुगिसकेको विर्तामोड नगरपालिका स्वास्थ्य शाखा प्रमुख राजीवकृष्ण विष्टले जानकारी दिनुभएको छ ।

बिर्तामोडमा एकजनाको मृत्यु
डेंगु सङ्क्रमणका कारण झापामा एकजनाको मृत्यु भइसकेको छ । साउन ४ गते बिर्तामोड–५ का एकजनाको मृत्यु भएपछि परीक्षण गर्दा डेंगु संक्रमण पुष्टि भएको विर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 

स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जिल्लामा डेंगु संक्रमण बढे पनि सङ्क्रमितहरूको अवस्था चिन्ताजनक नरहेको बताउनुभयो । उहाँले संक्रमण बढिरहेको बताउँदै नियन्त्रणका लागि स्थानीय तहहरुले तदारुकता देखाउनुपर्ने औँल्याउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button