तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक : ‘बलियो सङ्गठन आजको आवश्यकता’

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको चौथो दिनको आजको बैठकमा ३३ जना केन्द्रिय सदस्यहरुले आ–आफ्नो धारणा राख्नुभएको छ ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको बैठकमा केन्द्रिय सदस्यहरुले बोल्दै गुटबन्दी अन्त्य गरी एक ढिक्का भएर सङ्गठन बलियो बनाउनु आजको आवश्यकता भएको बताउनुभएको छ ।

file photo

पार्टीको विधान, विधि र पद्धति अनुसार पार्टीले गतिविधि सञ्चालन गर्न केन्द्रिय सदस्यहरुले नेतृत्वसँग आग्रह गर्दै जनताले भोगिरहेको समस्याबारे पनि काँग्रेसले बोल्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा केन्द्रिय सदस्यहरुले निर्वाचनमा समावेशी ढङ्गबाट उम्मेदवार बनाउनुपर्ने र ३३ प्रतिशत महिलालाई उम्मेदवार बनाउन काँग्रेसले आउँदो दिनमा भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा पार्टीका तर्फबाट समानुपातिक, राष्ट्रियसभा र पालिकाको प्रमुख र उपप्रमुखमा दोहोर्‍याएर नपठाउन आग्रह गर्नुहुँदै केन्द्रीय सदस्यहरुले राजनीतिक नियुक्तिमा पनि नदोहोर्याइकन सबैलाई अवसर र नेतृत्व गर्ने मौका दिनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा संसद्मा पार्टीको गतिविधि, विभाग गठन, पार्टीको राष्ट्रिय अभियान घोषणा, केन्द्रीय अनुशासन समितिको प्रतिवेदन, समसामयिक राजनीतिक, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदन, साङ्गठनिक कार्ययोजना र कार्यतालिका, नीति अधिवेशन, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन लगायतका कार्यसूचीमाथि छलफल भइरहेको छ ।

बैठक साउन ७ गते आइतबार बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालयमा पुनः बस्नेछ ।

बैठकमा बाँकी केन्द्रिय सदस्यहरुले आ–आफ्नो धारणा राख्नुहुने नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button